
इलाम । चैत्र १३ देखि १९ गतेसम्म उत्तरी इलामको सुलुबुङमा ऐतिहासिक नवज्योति कप फुटबल प्रतियोगिता सम्पन्न भयो।
एक सातासम्म चलेको यो प्रतियोगितामा ८४ वर्षीय रनमाया बुर्जा मगर विगतका वर्षहरूमा जस्तै खेलाडीलाई चुइगम बाँडिरहेकी भेटिनुहुन्थ्यो । उहाँको फुटबलसँग जोडिएको यो मोहको खास कारण के हो त ?
रहर लाग्दो गरी फुटबल खेल्ने ३५ वर्षीय छोरा हरि बुर्जाको २०६३ साल पुसमा निधन भएपछि इलामको सन्दकपुर-३ सुलबवुङकी रनमाया विछिप्त बन्नुभयो। आफ्नो समयका राम्रा फुटबल खेलाडी श्रीमान टेकबहादुर बुर्जालाई पनि उहाँले २०७८ सालमा गुमाउनुभयो।
त्यही पीडा भुलाउन उहाँ फुटबल प्रतियाेगिता आयोजना हुँदा नियमित रूपमा मैदान पुग्नुहुन्छ अनि खेलाडी, आयोजक र अतिथिलाई चुइगम बाँड्नुहुन्छ । फाइनल खेलमा चुइगमसहित सम्पूर्ण खेलाडी र अतिथिलाई खादा पनि ओढाइदिनुहुन्छ ।
इलामको सन्दकपुर गाउँपालिका-३ सुलुबुङमा आयोजना भएको यो प्रतियोगिता जिल्लाकै पुरानो मध्येको एक हो । करिब पाँच दशकदेखि निरन्तर सञ्चालित प्रतियोगिताले देश विदेशमा रहेका इलामेलीलाई जोडेको छ। बेलायतमा बसोबास गर्दै आउनुभएका ७८ वर्षीय रामचन्द्र बुर्जा पुर्ख्यौली थातथलोमा आयोजना भएको प्रतियोगिता हेर्न पाउँदा दङ्ग हुनुहुन्छ ।
निरन्तरको वर्षाले मैदान हिलाम्ये भएर खेलाडीलाई खेल्न सहज थिएन । तर, पनि यो प्रतियोगितालाई सिंगो गाउँको उत्सव झैँ मानेर उनीहरूले उत्साहपूर्वक खेले । स्थानीय मगर जातिको परम्परागत संस्कृति प्रर्दशन प्रतियोगिताको विषेश आर्कषण रह्याे । प्रतियोगिता सम्पन्न गर्न हरेक घरबाट स्वतस्फूर्त आर्थिक र भौतिक सहयोग जुट्ने हुँदा आयोजकलाई सहज हुने गरेको छ ।
सुरूवातमा यो प्रतियोगिता भदौमा आयोजना हुन्थ्यो पछि दशैंको घटस्थापनादेखि खेलाउन थालियो । उक्त मौसम पनि सहज नभएपछि प्रजातन्त्र दिवसको अवसरमा फागुनमा आयोजना गर्न थालियो। यो वर्ष भने चुनावका कारण चैते दशैँ पारेर प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतिकूल मौसम भए पनि हरेक खेल निर्धारित समयमा खेलाउन आयोजक, रेफ्रीको भूमिका महत्वपूर्ण रह्याे। राष्ट्रिय टिममा पनि प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन गरेको सन्दकपुर गाउँपालिकामा मात्र वर्षमा १४ वटा प्रतियोगिता हुने गर्छन् । स्थानीयले आफ्नै खर्चमा मैदानको व्यवस्थापन गर्ने गरेका छन् ।