
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को सातौं खेलमा शुक्रबार चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स प्रतिस्पर्धा गर्दै छन् ।
चेन्नईस्थित एम ए चिदम्बरम स्टेडियम चेपकमा खेल सााझ पौने ८ बजे सुरू हुने छ । पञ्जाबले आफ्नो पहिलो खेलमा गुजरात टाइटन्सलाई हराउँदै सुखद् सुरूआत गरेको थियो । उ लगातार दोस्रो जित हात पार्ने योजनामा हुनेछ । पहिलो जितको खोजीमा रहेको चेन्नई राजस्थान रोयल्ससँग पराजित भएको थियो ।
चेन्नईका पूर्व कप्तान महेन्द्र सिंह धोनी र दक्षिण अफ्रिकी ब्याटर डेवाल्ड ब्रेविस चोटका कारण शुक्रबारको खेल गुमाउने छन् । पञ्जाबका लागि अस्ट्रेलियन युवा ब्याटर कूपर कोनोली तेस्रो नम्बरमा भरोसायोग्य सावित हुँदै आएका छन् । उनले अघिल्लो खेलमा कठिन अवस्थाबाट टोलीलाई उकास्दै अर्धशतक प्रहार गरेका थिए ।
बलिङमा अनुभवी स्पिनर युजवेन्द्र चहलले प्रभावशाली प्रदर्शन गर्दै मध्यम ओभरमा रन रोक्नुका साथै दुई महत्वपूर्ण विकेट लिएका थिए । उनलाई तीव्र गतिका बलर विजय कुमारले राम्रो साथ दिएका थिए । चेन्नईका लागि सिजनको सुरुआत सुखद् रहन सकेन ।
टोलीको ब्याटिङ र बलिङ दुवै पक्ष फितलो देखिएको थियो । शीर्षक्रमका ब्याट्सम्यान असफल हुँदा सरफराज खानलाई इम्प्याक्ट खेलाडीको रूपमा उतारिएको थियो । तर, उनले अवसर सदुपयोग गर्न सकेनन् । बलिङमा पनि म्याट हेनरी र नूर अहमद प्रभावहीन बनेका थिए ।
चेन्नई र पञ्जाबबीच अहिलेसम्म ३३ खेल भएका छन् । जसमा चेन्नईले १७ खेल जित्दा पञ्जाबले १५ खेल जितेको छ । एए खेल बराबरीमा टुंगिएपछि सुपर ओभरमा पञ्जाब विजयी भएको थियो । पछिल्लो सिजनका दुवै खेलमा पञ्जाबले चेन्नईलाई हराएको थियो । चेपक मैदानमा यी दुई टोली ९ पटक आमनेसामने भएका छन् । जहाँ चेन्नईले ४ र पञ्जाबले ५ खेल जितेको छ ।