पश्चिम एसियामा जारी तनावका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाइ

चैत्र २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम एसियामा जारी तनावका कारण ३८ नेपालीको शव स्वदेश ल्याउन ढिलाइ

काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल-अमेरिका र इरानबीच जारी युद्धका कारण पश्चिम एसियामा विभिन्न कारणले मृत्यु भएका ३८ नेपाली नागरिकको शव स्वदेश ल्याउन ढिलाइ भएको जनाएको छ ।

शुक्रबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले युद्धका कारण उडान प्रभावित हुँदा ३८ वटा शव नेपाल ल्याउन ढिलाइ भएको जानकारी गराउनुभएको हो । उहाँकाअनुसार रियादमा १७, दुबईमा १५, जेद्दामा ५, आबुधाबीमा ४, तेल अभिभमा ३, कतारमा २ तथा ओमान र बहराइनमा १–१ गरी कुल ३८ वटा शवहरू नेपाल ल्याउन बाँकी छ । 

विभिन्न समयमा मृत्यु भएका उनीहरूको शव नेपाल ल्याउन सरकारले गम्भीरतापूर्वक काम गरिरहेको प्रवक्ता क्षेत्रीले बताउनु भयो । उहाँले पश्चिम एसियामा जारी आक्रमणमा परी हालसम्म एक जना नेपालीको मृत्यु तथा २१ जना घाइते भएको जानकारी पनि दिनुभयो । 

उहाँले जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा रहेका नेपालीहरूको विवरण संकलन र सम्भावित उद्धारका लागि कन्सुलर सेवा विभागको अनलाइन दर्ता प्रणालीमाहालसम्म ८६ हजार ४ सय २० जनाले आफ्नो विवरण दर्ता गराएको जानकारी दिनुभयो । 

यस्तै, ट्रान्जिटमा फसेका सबै नेपाली नागरिकहरूको व्यवस्थापन भइसकेको र कुवेतमा रहेका दुई नेपालीले साउदीको भिसा प्राप्त गरिसके पनि उनीहरू आफ्नै इच्छाले तत्कालका लागि कुवेतमै बसेको जानकारी समेत क्षेत्रीले दिनुभयो । पछिल्लो समय मन्त्रालयको सम्पर्कमा आएर आफू असुरक्षित रहेको जानकारी गराउनेको संख्या क्रमशः घट्दै गएको उहाँको भनाइ छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.