
काठमाडौं । इन्डियन प्रिमियर लिग-आईपीएल २०२६ को पाँचौं खेलमा बुधबार लखनउ सुपर जायन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल लखनउस्थित इकाना स्टेडियममा साँझ पौने ८ बजे सुरु हुने छ । दुवै टोलीले अहिलेसम्म आईपीएल उपाधि जित्न सकेका छैनन्। सन् २०२२ देखि प्रतियोगितामा सहभागी हुँदै आएको लखनउ गत सिजन सातौं स्थानमा रहेको थियो भने दिल्लीले पाँचौं स्थानमा रहेर लिग समाप्त गरेको थियो ।
लखनउ र दिल्लीबीच हालसम्म ७ खेल भएका छन् । जसमा दिल्लीले ४ खेल जितेको छ भने लखनउले ३ खेलमा जित हात पारेको छ । आईपीएल २०२५ मा यी दुई टोलीबीच भएका दुवै खेलमा दिल्लीले जितेको थियो । दिल्ली क्यापिटल्सका लागि इंग्ल्यान्डका ब्याट्सम्यान बेन डकेटले प्रतियोगिताबाट नाम फिर्ता लिएका थिए ।
यस्तो अवस्थामा करुण नायर वा पाथुम निसांकाले केएल राहुलसँग ओपनिङ गर्ने सम्भावना छ । त्यस्तै, बायाँहाते तीव्र गति बलर मिचेल स्टार्कले सुरुवाती केही खेल गुमाउनेछन् । उनी अप्रिलको दोस्रो साता टोलीमा जोडिन सक्नेछन् । दिल्लीको टोली यस सिजन सन्तुलित देखिएको छ ।
शीर्ष क्रममा केएल राहुलसँगै करुण नायर, ट्रिस्टन स्टब्स र डेभिड मिलर बाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिएको छ । मिलरको आगमनले मिडल अर्डर अझ मजबुत बनेको छ । समीर रिजवी र आशुतोष शर्मा फिनिसरको भूमिकामा देखिनेछन् । साथै अक्षर पटेल र विपराज निगमले ब्याट र बल दुवैबाट योगदान दिने अपेक्षा गरिएको छ ।
लखनउ सुपर जायन्ट्सको शीर्ष क्रम बलियो देखिन्छ । मिचेल मार्श र एडन मार्करमबाट राम्रो प्रदर्शनको अपेक्षा छ । निकोलस पूरन एक्लैले खेलको नतिजा बदल्न सक्ने क्षमता राख्छन् । तर टोलीका कप्तान ऋषभ पन्तको फर्म लखनउका लागि निकै महत्वपूर्ण हुनेछ ।
मिडल अर्डर केही कमजोर देखिएपनि बलिङ आक्रमण बलियो छ । मोहम्मद शमी, आवेश खान, एनरिक नोकिया, मयंक यादव र मोहसिन खानजस्ता बलर टोलीमा छन् । स्पिन विभागको जिम्मेवारी दिग्वेश राठी ले सम्हाल्नेछन् ।