एमाले सचिवालय बैठककाे निर्णय : ओली पक्राउविरूद्ध सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने

चैत्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले सचिवालय बैठककाे निर्णय : ओली पक्राउविरूद्ध सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठकले सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेकाे एमाले सचिवालय बैठकले सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने निर्णय गरेको हाे । बैठकपछि महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्नु गैरकानुनी र प्रतिशोधपूर्ण भएको भन्दै सदन र सडकबाट प्रतिवाद गर्ने निर्णय गरेको बताउनुभयाे । उहाँले सदन, सडक र कानुनी बाटोबाट अघि बढ्ने बताउनुभयाे ।

‘अध्यक्ष केपी ओलीको गैरकानुनी गिरफ्तारीविरूद्ध संसद्, सडक, कानुन र राजनीतिक प्रतिवाद गर्ने निर्णय गरेको छ,’ महासचिव पोरखेलले भन्नुभयाे, ‘अध्यक्षको पक्राउविरूद्ध शान्तिपूर्ण आन्दोलनबाट प्रतिशोधपूर्ण धरपकड गरी राज्य आतंक सिर्जना भएको छ । हामी एकताबद्ध प्रतिवादका लागि राजनीतिक दल, नागरिक समाज सबैमा हार्दिक अनुरोध गर्छौं ।’

त्यस्तै एमालेले २४ चैतमा केन्द्र, जिल्ला र स्थानीयस्तरमा कार्यक्रम गर्ने निर्णय गरेको छ । ‘मुलुकलाई मुठभेड र आतंक सिर्जना गर्न सरकार अघि बढेको छ । लोकतन्त्रको रक्षा गर्न सफल हुन्छौं भन्ने विश्वास छ,’ पोखरेलले भन्नुभयाे ।

 एमाले सचिवालय बैठकले निम्न कार्यक्रमहरू तय गरेको छ :

१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत भेला गर्ने।

२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने।

३. वैशाख ३ गते वडा तहमा भेला गर्ने।

४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।

५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।

६. सरकारद्वारा विद्यार्थी तथा पेसागत संगठनहरूसम्बन्धी गरिएका गतिविधिहरूका विषयसमेत समेटेर सबै जनसंगठनहरूले आ-आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीद्वारा घोषित आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्ने। साथै, भोलि ११ बजे जनसंगठन संयन्त्रको बैठक पार्टी कार्यालयमा बस्ने।

७. सर्वपक्षीय नागरिक संवादका लागि उपाध्यक्ष रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई र केन्द्रीय सदस्य मीन बहादुर शाहीलाई जिम्मेवारी दिइयो।

८. संसदभित्र दलहरूसँग सहकार्य र प्रभावकारी प्रस्तुति गर्ने जिम्मेवारी उपाध्यक्ष राम बहादुर थापा बादल र सचिव पद्मा अर्याललाई दिइयो। साथै, भोलि ३ बजे संसदीय दलको बैठक पार्टी कार्यालयमा बस्ने।

९. आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरिएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.