आईपीएलको १९औं संस्करण आजबाट

चैत्र १४, २०८२ |खेल ब्युरो
आईपीएलको १९औं संस्करण आजबाट

काठमाडौं । इन्डियन प्रीमियर लिग-आईपीएलको १९औं संस्करण शनिबारबाट सुरु हुँदैछ । 

उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्दै छन् । खेल बैंगलुरुको घरेलु मैदान एम. चिन्नास्वामी रंगशालामा साँझ पौने ८ बजे सुरु हुने छ । बैंगलुरुले अघिल्लो सिजन पञ्जाब किंग्सलाई हराउँदै पहिलो पटक उपाधि जितेको थियो । 

यता प्लेअफमा पुग्न असफल हैदराबाद छैटौं स्थानमा सीमित भएको थियो । यी दुई टोलीबीच अहिलेसम्म २५ खेल भएका छन् । जसमध्ये १३ खेल हैदराबादले जितेको छ भने ११ खेलमा बैंगलुरु विजयी भएको छ । एक खेल बराबरी भएपछि सुपर ओभरमा हैदराबादले जित निकालेको थियो । चिन्नास्वामी रंगशालामा दुवै टोलीबीच ८ पटक भेट हुँदा ५ खेल बैंगलुरुले र ३ खेल हैदराबादले जितेको छ ।

बैंगलुरु ब्याटिङ, बलिङ र अलराउन्डर तीनै विभागमा सन्तुलित देखिन्छ । ओपनिङमा विराट कोहली र फिल साल्ट जस्ता भरपर्दा खेलाडी छन् । देवदत्त पडिक्कलले घरेलु सिजनमा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी र वेंकटेश अय्यर मध्य एक जना तेस्रो क्रममा देखिने छन् । 

मिडल अर्डरमा टिम डेभिड र जितेश शर्माले आक्रामक ब्याटिङ गर्न सक्छन् । साथै रोमारियो शेर्फड र क्रुणाल पाण्ड्याबाट पनि राम्रो प्रदर्शनको अपेक्षा गरिएको छ । बलिङतर्फ जोश हेजलवुडको अनुपस्थितिमा भुवनेश्वर कुमार, रसिख सलाम र ज्याकब डफीले जिम्मेवारी सम्हाल्नेछन् । यश दयाल यसपटक व्यक्तिगत कारणले प्रतियोगिताबाट बाहिरिएका छन् ।

हैदराबाद यस सिजनपनि आफ्नो शीर्षक्रममा निर्भर देखिन्छ । अभिषेक शर्मा, ट्राभिस हेड र ईशान किशनबाट राम्रो सुरुवातको अपेक्षा गरिएको छ । नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा ईशान किशनले टिमको नेतृत्व गर्ने छन् ।

गत सिजन टोलीका सर्वाधिक रनकर्ता हेनरिक क्लासन मुख्य आधारका रूपमा रहनेछन् । फिनिसरका रूपमा अनिकेत वर्माले प्रभाव पारेका छन् । साथै नीतीश कुमार रेड्डी र लियाम लिभिङस्टोनबाट पनि टोलीले ठुलो अपेक्षा राखेको छ । तर टोलीको बलिङ केही कमजोर देखिएको छ । प्याट कमिन्सको अनुपस्थितिमा ईशान मलिंगा, हर्षल पटेल र जयदेव उनादकटले आक्रमण सम्हाल्नेछन् ।कमिन्स प्रतियोगिताको दोस्रो चरणमा फर्किने अपेक्षा गरिएको छ ।