ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरू

म्याद थपका लागि भोलि अदालतमा पेस गरिने
चैत्र १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
ओली र लेखकमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरू

काठमाडौं । जेन-जी आन्दोलनका बेला प्रधानमन्त्री रहनुभएका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरू गरेको छ ।

शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट ओली र भक्तपुरको कटुञ्जेस्थित एक घरबाट लेखकलाई प्रहरी पक्राउ गरी अनुसन्धान थालेको हो । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली र लेखकलाई लापरबाहीपूर्ण र हेलचेर्क्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो र बेलुकीबाटै कार्यान्वयन गर्न गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग कुराकानी गर्नुभएको थियो । पक्राउ गर्नुअघि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने प्रहरी प्रमुख कार्की र सशस्त्र प्रहरी प्रमुख अर्यालले सुझाव दिएका थिए । 

त्यसपछि गृह मन्त्रालयले नै ओली र लेखकविरूद्ध जाहेरी दिएको थियो । जाहेरीअनुसार ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न तत्काल पक्राउ गर्नुपर्ने भन्दै प्रहरीले जरूरी पूर्जी तयार गरेको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक बिहानै पक्राउ पर्नुभएको हो ।

सुरक्षा अधिकृतहरूका अनुसार, ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा पूर्वप्रधानमन्त्री तहका व्यक्तिलाई पक्राउ गरिएको यो पहिलो घटना हो । जाँचबुझ आयोगको प्रतिवेदनमा २३ भदौमा गोली प्रहारबाट केहीको मृत्यु भइस्केपछि पनि गोली रोक्नतिर तत्कालीन प्रधानमन्त्री ओली लगायत कुनै पनि पदाधिकारी अग्रसर नभइ लापरबाहीपूर्ण र हेलचेर्क्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेको भनिएको छ । 

कर्फ्यु लाग्नुभन्दा अघिबाट चार घन्टासम्म गोली चल्दासमेत तत्कालीन पदाधकिारीले नरोकेको भनिएको छ । गोली चलाउने काम रोक्नेतिर प्रयास नगरी ओली र लेखकको लापरबाहीपूर्ण कार्यका कारण किशोरकिशोरीको ज्यान गएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

पक्राउ पर्नु भएका पूर्वप्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई म्याद थपका लागि आइतबार अदालतमा पेस गरिने प्रहरीले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.