
हुम्ला । जीवन र मृत्युबीचको संघर्षमा जुधिरहेका नेपालीले अन्ततः सिमकोट विमानस्थलमै ज्यान गुमाएका छन्।
भिरबाट लडेर गम्भीर घाइते भएका उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने तयारी भइरहेका बेला यो दुःखद् घटना भएको हो। चंखेली गाउँपालिका–२ गर्खा घर भई कामको सिलसिलामा चंखेली–४ पाली गएका अक नेपाली शुक्रबार दिउँसो घर फर्कने क्रममा भिरबाट लडेर गम्भीर घाइते भएका थिए।
घटनालगत्तै उनलाई चंखेली गाउँपालिका केन्द्रस्थित पिप्लाङ स्वास्थ्य चौकीमा पुर्याई प्राथमिक उपचार गरिएको थियो। अवस्था झन् जटिल बन्दै गएपछि साँझ हुम्ला जिल्ला अस्पताल, सिमकोट ल्याइएको स्थानीय बासिन्दा सन्तोष शाहीले जानकारी दिए।
टाउकोमा गम्भीर चोट लागेका कारण जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने अन्तिम प्रयास गरिएको थियो। तर, उद्धारको त्यो आशा सिमकोट विमानस्थलमै टुट्यो, जहाँ जीवन बचाउने प्रतीक्षामा रहेका उनी अन्ततः सधैंका लागि बिदा भए।
जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार दुर्गम भौगोलिक अवस्था, सीमित स्वास्थ्य सेवा र उद्धारमा हुने ढिलाइका कारण यस्तो दुःखद् अवस्था सिर्जना भएको हो। हिमाली जिल्लाहरूमा समयमै उपचार र प्रभावकारी उद्धारको अभावले अझै पनि धेरै ज्यान जोखिममा पर्ने यथार्थ यस घटनाले फेरि एकपटक उजागर गरेको छ।