
धनकुटा । धनकुटा सदरमुकामको मध्यभागमा रहेको राणाकालीन ऐतिहासिक रङ्गशाला जीर्ण बन्दै गएपछि यसको संरक्षण र स्तरोन्नतिका लागि स्थानीय तहमा चासो बढेको छ।
जिल्ला खेलकुद विकास समिति धनकुटाको पहलमा मंगलबार आयोजित सर्वपक्षीय भेलाले रङ्गशालाको मर्मत–सम्भार, संरक्षण र स्तरोन्नतिका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो। राणाकालमा निर्माण गरिएको उक्त रङ्गशालाको मैदान अहिले क्षतिग्रस्त अवस्थामा पुगेको छ। पहिरोका कारण, मैदान, प्याराफिट भत्किएको छ भने तारबारसमेत जीर्ण बनेको छ।
जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज चाम्लिङ राईका अनुसार हालको अवस्थामा रङ्गशालामा कुनै पनि खेलका अभ्यास तथा प्रतियोगिता सञ्चालन गर्न कठिन भइरहेको छ। उनले खेलबाहेकका विभिन्न गतिविधि-जस्तै मेला, महोत्सव, सभा तथा सम्मेलनका कारण मैदान थप बिग्रँदै गएको बताए।
“पहिलो प्राथमिकता खेलकुद नै हो। खेलबाहेकका गतिविधि नियन्त्रण नगरे मैदान जोगाउन सकिँदैन,” अध्यक्ष राईले भने। भेलामा फुटबल, भलिबल, एथलेटिक्सलगायत विभिन्न विधाका खेलाडी, प्रशिक्षक, पूर्व खेलाडी, स्थानीय बासिन्दा तथा राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले रङ्गशालाको दीगो संरक्षण, व्यवस्थित सञ्चालन र स्तरोन्नतिका लागि स्पष्ट नीति तथा योजना आवश्यक रहेको धारणा राखेका थिए। रङ्गशालाको संरक्षण र विकासका लागि १३ सदस्यीय निर्देशन समिति समेत गठन गरिएको छ। अध्यक्ष राईकै संयोजकत्वमा बनेको उक्त समितिले मैदानको वर्तमान अवस्थाको मूल्याङ्कन गरी पुनर्निर्माण, व्यवस्थापन र संरक्षणसम्बन्धी योजना तयार पारेर सम्बन्धित निकायसमक्ष पेस गर्ने जनाएको छ।
स्थानीय सरोकारवालाले समयमै आवश्यक पहल नगरे ऐतिहासिक महत्व बोकेको धनकुटा रङ्गशाला पूर्णरूपमा प्रयोगविहीन हुने जोखिम रहेको बताएका छन्।