फ्रेन्च फुटबलर दिमित्री पायेटद्वारा व्यावसायिक खेल जीवनबाट सन्न्यास घोषणा

चैत्र १०, २०८२ |खेल ब्युरो
फ्रेन्च फुटबलर दिमित्री पायेटद्वारा व्यावसायिक खेल जीवनबाट सन्न्यास घोषणा

काठमाडौँ । फ्रान्सेली फुटबलर दिमित्री पायेटले २१ वर्ष लामो आफ्नो व्यावसायिक खेल जीवनबाट सन्न्यास घोषणा गरेका छन् । आफ्नो ३९औँ जन्मदिनको पूर्वसन्ध्यामा, पायेटले खेल जीवन अन्त्य गरेको बताएका हुन् ।

पायेटको फुटबल यात्रा उनको जन्मथलो रियुनियन टापुबाट सुरु भई युरोपका शीर्ष क्लबहरूसम्म पुगेको थियो । उनले नान्टेस, सेन्ट-एटिएन, लिल र विशेषगरी मार्से र वेस्ट हृयाममा आफ्नो छाप छोडेका छन् । मार्सेका लागि दुई कार्यकालमा उनले ३ सय २६ खेल खेल्दै ७८ गोल गरेका छन् । यस्तै, इङ्लिस क्लब वेस्ट हृयाममा बिताएको १८ महिनामा उनले १५ गोल र २२ असिस्ट गरेका छन् । क्लबमा उत्कृष्ट प्रदर्शन गरेकै आधारमा उनले सन् २०१६ मा हृयामर अफ द इयरको उपाधिसमेत हात पारेका थिए ।

सेट-पिस विशेषज्ञका रूपमा चिनिने पायेटको नाममा एउटा ऐतिहासिक कीर्तिमान पनि छ । उनी फ्रान्सेली लिग वानको इतिहासमा एक सय गोल र एक सय असिस्टको आँकडा छुने पहिलो खेलाडी हुन् । उनले युरोपका शीर्ष पाँच लिगहरूमा १४ वटा डाइरेक्ट फ्रि-किक गोल गरेका छन् भने सेट-पिसबाटै थप ५८ वटा गोलका लागि असिस्ट उनको नाममा छ ।

अन्तर्राष्ट्रिय स्तरमा फ्रान्सका लागि ३८ खेल खेल्दै उनले ८ गोल गरेका छन् । विशेषगरी युरो २०१६ मा उनको प्रदर्शन लोभलाग्दो थियो, जहाँ उनले टोलीलाई फाइनलसम्म पुर्‍याउन मुख्य भूमिका खेल्दै टिम अफ द टुर्नामेन्टमा पनि स्थान बनाएका थिए ।

ब्राजिलियन क्लब भास्को दा गामाबाट बिदा भएपछि ९ महिना क्लबविहीन रहेका पायेटले अन्ततः आफ्नो बुट थन्क्याउने निर्णय गरेका हुन्।