
काठमाडौं । नेपालको अग्रीणी खेलकुद च्यानल कान्तिपुर म्याक्सले यसपटक पनि विश्वकै सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग-आईपीएलकाे प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
नेपालको पहिलो खेलकुद च्यानलका रूपमा गतवर्ष प्रसारण अधिकार पाएको म्याक्सले यसवर्ष पनि प्रि-म्याच एनालाईसीससहित सोही क्रमलाई निरन्तरता दिएको हो। कान्तिपुर म्याक्सले मंगलबार एक्स्ट्रीम इनर्जी ड्रिंक्ससँग ब्रोडकास्टिङ टाईटल पार्टनर तथा लेमिनार टायल्स र मंगलम पाइपसँग 'पावर्ड बाई’ साझेदारीको रूपमा सम्झौता गरेको छ।
नेपाली दर्शकहरूको सुविधालाई मध्यनजर गर्दै १९औं संस्करणको आईपीएलको प्रत्यक्ष प्रसारण गर्न लागेको कान्तिपुर म्याक्सले नेपाली खेलाडी र विज्ञसहित प्रि-म्याच एनालाईसीस समेत गर्नेछ । कान्तिपुर म्याक्ससँग यसअघि आईसीसी पुरूष टी-२० विश्वकप २०२६, नेपाल प्रिमियर लिग-एनपीएलसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष प्रसारण गरेको अनुभव छ ।
विश्वकै चर्चित टी-२० लिग आईपीएलको प्रसारणसँगै नेपाली दर्शकलाई उच्चस्तरीय फ्रेन्चाइज क्रिकेटको आनन्द स्वदेशी च्यानलबाटै दिने लक्ष्य कान्तिपुर म्याक्सको छ । आईपीएल २०२६ शनिबारदेखि सुरू हुँदैछ । सिजनको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद प्रतिस्पर्धा गर्ने छन् ।
हाल कान्तिपुर म्याक्समा विश्वकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियाेगिता इंग्लिस प्रिमियर लिग प्रत्यक्ष प्रसारण भइरहेको छ ।