
काठमाडौँ । जिनेदिन जिदान सन् २०२६ को विश्वकपपछि फ्रान्सको मुख्य प्रशिक्षक बन्ने भएका छन् । जिदान र फ्रान्सेली फुटबल महासंघबीच सोमबार यस विषयमा सहमति भएको थियो ।
सन् २०२१ मा रियल मड्रिड छाडेपछि कुनै पनि क्लबमा आबद्ध नभएका जिदानले आफ्नै राष्ट्रिय टोली सम्हाल्न पीएसजी, युभेन्टस र म्यानचेस्टर युनाइटेडजस्ता क्लबका प्रस्तावहरू अस्वीकार गरेका थिए ।
जिदानले सन् २०१२ देखि टोली सम्हाल्दै आएका डिडियर डेसच्याम्प्सलाई प्रतिस्थापन गर्नेछन् । १४ वर्ष लामो कार्यकालमा डेसच्याम्प्सले फ्रान्सलाई २०१८ को विश्वकप र २०२१ को नेसन्स लिग जिताएका थिए । फ्रान्सेली फुटबल महासंघका अध्यक्ष फिलिप डियालोले उत्तराधिकारीको नाम तय भइसकेको पुष्टि गर्दै जिदानको व्यक्तित्वले फ्रान्सेली जनताको समर्थन पाउने पनि बताएका छन् ।
खेलाडीका रूपमा जिदानले फ्रान्सलाई सन् १९९८ को विश्वकप र २००० को युरो कप जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रशिक्षकको रूपमा उनले रियल मड्रिडलाई लगातार तीनपटक युएफा च्याम्पियन्स लिग र दुईपटक ला-लिगाको उपाधि दिलाएका थिए ।
फ्रान्सको प्रशिक्षकको रूपमा उनको पहिलो खेल आगामी सेप्टेम्बर २५ मा टर्कीविरुद्ध हुनेछ ।