खेलकूद परिषद्ले समयमै स्वीकृति नदिँदा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगन गर्नुपरेको एन्फाको भनाइ

चैत्र ९, २०८२ |खेल ब्युरो
खेलकूद परिषद्ले समयमै स्वीकृति नदिँदा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगन गर्नुपरेको एन्फाको भनाइ

काठमाडौं । अखिल नेपाल फुटबल संघ-एन्फाले खेलकुद परिषद्ले समयमा स्वीकृति नदिएका कारण हङकङसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल स्थगन गर्नुपरेको जनाएको छ। 

एन्फाले साेमबार विज्ञप्ति जारी गर्दै फिफा विन्डोअन्तर्गत चैत १२ गते दशरथ रंगशालामा हङकङविरूद्ध तय भएका खेल स्थगित गर्नुपरेको जनाएको हो । एन्फाले खेल आयोजना गर्न आवश्यक स्वीकृति र रंगशाला उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद्लाई गत फागुन १० गते पत्राचार गरेको थियो। तर, परिषद्ले चैत ३ गतेको दोस्रो पत्रपछि मात्रै स्वीकृति प्रदान गरेको थियो। तर, उक्त पत्र आफूलाई प्राप्त नै नभएको एन्फाको दाबी छ । 

समयमै पत्राचार गरिए पनि हालसम्म कुनै लिखित अनुमति प्राप्त गर्न नसकेको एन्फाको भनाइ छ । एन्फाले दशरथ रंगशालाको मर्मत, फ्लडलाइट, कर्मचारी व्यवस्थापनलगायत सम्पूर्ण आर्थिक तथा प्राविधिक जिम्मेवारी वहन गरिसकेको अवस्थामा पनि स्वीकृति नपाउनु दुःखद भएको उल्लेख गरेको छ। 

यसले अन्तर्राष्ट्रिय खेल तयारीमा गम्भीर असर परेको संघको भनाइ छ। यता, एन्फाले खेल स्थगनको सूचना जारी गरेपछि मात्र राखेपले स्वीकृति दिइएको भन्दै सूचना सार्वजनिक गरेकामा संघले आपत्ति जनाएको छ। यस घटनाले प्रशासनिक समन्वयमा गम्भीर प्रश्न उठाएको एन्फाको दाबी छ।