घरेलु मैदानमै सिटीलाई हरायो रियालले

चैत्र ४, २०८२ |खेल ब्युरो
घरेलु मैदानमै सिटीलाई हरायो रियालले

काठमाडौँ । रियाल मड्रिडले च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीलाई लगातार तेस्रो सिजन नकआउट चरणबाट घर फर्काएको छ । बुधबार बिहान भएको खेलमा १० खेलाडीमा समेटिएको सिटीलाई उसकै घरेलु मैदानमा २-१ ले हराउँदै रियालले क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

सिटीका बर्नार्डो सिल्भाले पहिलो हाफमै रातो कार्ड पाएपछि खेलको मोड बदलिएको थियो । यसको फाइदा उठाउँदै भिनिसियस जुनियरको दुई गोलको मद्दतमा रियाल २-१ ले विजयी भयो । गत हप्ता भएको अन्तिम-१६ को पहिलो लेगमा ३-० ले पछि परेको सिटीलाई गएराति पुनरागमन गर्नुपर्ने ठूलो चुनौती थियो । खेलको सुरुआतमा टोलीले आक्रामक प्रदर्शन गरे पनि सिल्भाको रातो कार्डले घरेलु समर्थकको आशा समाप्त गरिदियो । पोर्चुगिज मिडफिल्डर सिल्भा गोललाइनमा उभिएका बेला भिनिसियसको प्रहारलाई हातले रोकेका थिए। त्यसपछि भीएआरद्वारा जाँच र रेफ्री क्लेमा टुर्पिनले साइडलाइन मोनिटरमा हेरेपछि सिल्भालाई सीधै रातो कार्ड दिँदै रियाललाई पेनाल्टी प्रदान गरिएको थियो । अघिल्लो साता गोलकिपर जियानलुइजी डोनारुम्माले पेनाल्टी बचाएका थिए । यसपटक भने भिनिसियसले कुनै गल्ती नगरी गोलमा परिणत गरे। खेलको पहिलो मिनेटमै फेडेरिको भाल्भेर्देसँग अग्रता लिने अवसर थियो, तर उनको प्रहार कमजोर रहँदा बल सजिलै डोनारुम्मासम्म मात्रै पुग्यो । सिटीले खेलमा फर्किने प्रयास गरे पनि थिबाउट कोर्टवालाई पार गर्न सकेन । रायान चेर्कीको प्रहार सीधै गोलकिपरसम्म मात्रै पुग्यो भने रोड्रीको बल कूर्तोइसले पोस्टमाथि धकेले । अर्लिङ हालान्डको शक्तिशाली प्रहार पनि बेल्जियन गोलरक्षकले उत्कृष्ट रूपमा बचाए ।

हाफटाइमअघि हालान्डले एक गोल गर्दै सिटीलाई केही आशा दिलाए पनि दोस्रो हाफमा टोलीले चामत्कारिक पुनरागमन गर्न सकेन । अन्तिम समयमा भिनिसियसले दोस्रो गोल थप्दै रियालको जित पक्का गरेका थिए । यससँगै रियाल समग्रमा ५-१ ले विजयी भएर क्वार्टरफाइनल पुगेको हो ।