
काठमाडौँ । फाइनलमा सेनेगलको विजयलाई उल्ट्याउँदै अफ्रिकन फुटबल महासंघ काफले सन् २०२५ को अफ्रिका कप अफ नेसन्सको उपाधि मोरक्कोलाई दिने निर्णय गरेको छ । अफ्रिकन फुटबलमा ठूलो विवादपछि एफकनको उपाधि अन्ततः मोरक्कोले पाएको हो ।
गत जनवरी १८ मा सम्पन्न फाइनल खेलमा सेनेगलले घरेलु टोली मोरक्कोलाई १-० ले पराजित गरेको थियो । तर खेलको अन्तिम समयमा रेफ्रीले मोरक्कोलाई पेनाल्टी दिएपछि विवाद चुलिएको थियो ।
खेल गोलरहित अवस्थामा रहेको बेला दिइएको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै साडियो मानेबाहेक सेनेगलका सबै खेलाडी केही समय मैदानबाट बाहिरिएका थिए । करिब १७ मिनेटपछि खेल पुनः सुरु भए पनि ब्राहिम डियाजले प्रहार गरेको पेनाल्टी बचाइएको थियो । त्यसपछि अतिरिक्त समयमा पापे गुएले गोल गर्दै सेनेगललाई जित दिलाएका थिए । तर उक्त नतिजा अब आधिकारिक रूपमा रद्द गरिएको छ ।
काफको अपिल समितिले मोरक्को फुटबल संघको अपिललाई स्वीकार गर्दै सेनेगलले फाइनल फोरफिट गरेको घोषणा गरेको छ । काफले जारी गरेको विज्ञप्तिअनुसार अब उक्त खेलको नतिजा ३-शून्यले मोरक्कोको पक्षमा कायम गरिएको छ । यससँगै मोरक्कोलाई औपचारिक रूपमा २०२५ अफ्रिका कप अफ नेसन्सको विजेता घोषणा गरिएको हो ।