धुलिखेल-खावा सडक खण्डमा केही दिन सवारी आवागमनमा प्रतिबन्ध

फाल्गुन २९, २०८२ |पुजन धिताल
धुलिखेल-खावा सडक खण्डमा केही दिन सवारी आवागमनमा प्रतिबन्ध

काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडक खण्डमा कालोपत्रे गर्ने कार्य सुरू हुने भएकाले केही दिन सवारी सञ्चालनमा आंशिक प्रतिबन्ध लगाउने जाजकारी दिएकाे छ।

कार्यालयले जारी गरेको सार्वजनिक सूचनाअनुसार उक्त सडक खण्डमा सडक स्तरोन्नति तथा कालोपत्रे कार्य प्रभावकारी रूपमा सम्पन्न गर्न २०८२ चैत ७ गतेदेखि २०८२ चैत २० गतेसम्म विशेष यातायात व्यवस्था लागू गरिने जनाएको छ। सूचनाअनुसार सो अवधिमा ठूला चारपाङ्ग्रे सवारी साधन (बस समेत) साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडक खण्डमा सञ्चालन गर्न पाइने छैन।

त्यसैगरी टिपर तथा ट्रक (पास लिएका समेत)लाई भने २४ घन्टा नै सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ। सडक डिभिजन कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा बसेको सरोकारवालाको बैठकको निर्णयअनुसार सडक निर्माण कार्यलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको हो।

सडक सुधार तथा कालोपत्रे कार्यलाई निर्धारित समयमा सम्पन्न गर्न र सवारी आवागमनबाट हुने अवरोध कम गर्न यस्तो व्यवस्था गरिएको कार्यालयले जनाएको छ। यस अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा यात्रामा निस्कनु अघि आवश्यक जानकारी लिन सम्बन्धित सबैमा अनुरोध गरिएको छ।


Image

पुजन धिताल

धिताल कान्तिपुर टेलिभिजनका काभ्रे संवाददाता हुन् ।