विश्वकप लिग टू : त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

फाल्गुन १५, २०८२ |खेल ब्युरो
विश्वकप लिग टू : त्रिकोणात्मक सिरिजका लागि २० खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत ओमान र यूएईविरुद्धको घरेलु त्रिकोणात्मक सिरिजका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ-क्यानले शुक्रबार प्रारम्भिक प्रशिक्षणमा सामेल हुने २० खेलाडीको नाम सार्वजनिक गरेको हो । कप्तान रोहित पौडेलको नेतृत्वमा तयार पारिएको प्रारम्भिक टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बशीर अहमद र गुल्शन झा परेका छन् । 

त्यस्तै सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजान ढकाल, ललित राजवंशी, शाहाब आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामीलाई पनि प्रारम्भिक तयारीमा बोलाइएको छ । नेपालले फागुन २६ गते टीयू क्रिकट मैदानमा ओमानसँग खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्नेछ । त्यसको ४ दिनपछि यूएईसँग प्रतिस्पर्धा गर्ने छ भने चैत २ गते पुनः ओमान र चैत ६ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ ।

घरेलु मैदानमा हुने त्रिकोणात्मक सिरिज नेपालका लागि महत्त्वपूर्ण मानिएको छ । लिग-२ अंक तालिकामा २० खेलमा ५ जितसहित १२ अंक जोडेर नेपाल पुछारबाट दोस्रो स्थानमा छ भने २० खेलमा १० अंक जोडेको यूएई अन्तिम स्थानमा छ । २० खेलमा २४ अंक जोडेको ओमान चौथो स्थानमा छ ।