कोशीमा सबथोक छ, अभाव भने केवल लगानीमैत्री नीतिको

त्रिदेशीय कनेक्टिभिटीले बदल्न सक्छ कोशीको आर्थिक चित्र
फाल्गुन १५, २०८२ |सुशीला पाठक
कोशीमा सबथोक छ, अभाव भने केवल लगानीमैत्री नीतिको

विराटनगर । प्रकृति र संस्कृतिको मनोरम संगम हो कोशी प्रदेश । 

त्यसभन्दा बढी विकासको सामर्थ्य अत्यधिक बोकेको प्रदेश हो यो । विश्वकै अग्लो सगरमाथादेखि समुद्री सतहबाट जम्मा ५८ मिटर अग्लो केचनाकवलसम्म यही प्रदेशमा छन् । कृषि, पर्यटन, जलविद्युत् र उद्योगको अपार सम्भावना बोकेको यो प्रदेशमा छैन त केवल सरकारी सक्रियता ।

यहाँ के छैन ? सबथोक छ।असंख्य गन्तव्य छ, अनन्त हिमाल-नदीनाला छ, असीम सम्भावना छ । यहाँ केवल लगानीमैत्री नीति छैन, त्यसमाथि रोक छ । यो कोशी प्रदेश हो, यहाँ के छैन ? सबथोक छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले २०८१ सालमा प्रकाशन गरेको राष्ट्रिय जनगणना २०७८ को प्रदेशस्तरीय जनसांख्यिक प्रतिवेदनअनुसार कोशी सम्भावनै सम्भावनाको क्षेत्र हो । यहाँको जनसांख्यिक लाभांश सूचकांक ७८.२० छ । रोजगार सिर्जना र स्रोत परिचालन गर्न सक्ने हो भने यो जनसांख्यिक लाभांशमार्फत दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छ ।

समग्र देशको सूचकांक ७५.३० मात्र हुँदा कोशी राष्ट्रिय औसतभन्दा माथि छ । अब क्रियाशील श्रमशक्तिको तथ्यांक हेरौँ । १५ देखि ५९ वर्षका क्रियाशील श्रमशक्ति कोशीमा ६२.८० प्रतिशत छन् । जबकि राष्ट्रिय औसत ६१.९६ प्रतिशत छ । नेपालका सात प्रदेशमध्ये यो सूचकांकमा ६७.१८ प्रतिशतसहित बागमती मात्र कोशीभन्दा अगाडि छ ।

तर तथ्यांकमा सम्भावना देखिए पनि, यथार्थमा भने यो पूर्णतः प्रतिविम्बित हुन सकिरहेको छैन । लगानीमैत्री नीति र कृषिसँग सम्बन्धित उद्योगहरू स्थापना हुन नसक्दा असंख्य स्रोतहरूबाट पर्याप्त लाभ लिन सकिइरहेको छैन । आर्थिक काममा संलग्न कोशीका २८ लाख ३४ हजार ८८ जनामध्ये १ लाख १५ हजार १ सय ४८ जना अर्थात् ४.०६ प्रतिशत मात्र औद्योगिक उत्पादनमा संलग्न छन् । 

त्यसमाथि कुनै समयको औद्योगिक नगरी विराटनगरबाट उद्योग धन्दाहरू क्रमशः मध्यनेपालतर्फ सरिरहँदा यसले भएकै रोजगारी पनि गुम्ने खतरा बढाइरहेको छ । कोशीमा सबैभन्दा बढी ६२.६९ प्रतिशत आर्थिक गतिविधिमा क्रियाशील नागरिक कृषि, वन तथा माछापालनमा संलग्न छन् । 

यस्तै थोक एवं खुद्रा व्यापार, मोटरसाइकल तथा मोटरगाडी मर्मतका कार्यमा संलग्न ११.०८ प्रतिशत छन् भने निर्माणको क्षेत्रमा ६.९६ प्रतिशत संलग्न छन् । तर बहुसंख्यक नागरिक संलग्न कृषिको औद्योगीकरणका निम्ति कृषिजन्य उद्योगको स्थापना र विकासमा न प्रदेश सरकार र संघ कसैले खासै चासो देखाएको पाइँदैन ।

विश्वभरका पर्यटकको साझा गन्तव्य सगरमाथालाई शिरमा राखेको कोशी प्रदेशको सामर्थ्य सगरमाथाझैँ अग्लो छ । कञ्चनजंघा, मकालु, चोयु, ल्होत्सेजस्ता हिमालले साहसिक पर्यटनको अपार सम्भावना पनि देखाउँछ । हलेसी, वराहक्षेत्र, बुढासुब्बा, पाथीभरा जस्ता धार्मिक तथा ऐतिहासिक स्थलले धार्मिक तीर्थयात्री र आन्तरिक पर्यटकलाई लोभ्याइरहन्छ।

वनजंगल चहार्ने, वन्यजन्तु अवलोकन गर्नेहरूका लागि यही प्रदेशमै छ-सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु वरूण राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्षर कञ्चनजङ्घा संरक्षण क्षेत्र । यस्तै कोशीको अर्को सामर्थ्य हो- जलविद्युत् । दूधकोशी, सुनकोशी, अरूण, तमोरजस्ता नदीमा यकिन तथ्यांक नभए पनि जलविद्युत् उत्पादनको ठूलो सम्भावना छ ।

कोशीका सम्भावनाहरू सुदृढ गर्ने अर्को पक्ष हो- कनेक्टिभिटी । उत्तरतर्फ चीन र दक्षिणमा भारतसँग सीमा जोडिएको यो प्रदेशले सडक पूर्वाधारमार्फत त्रिदेशीय साइनो जोडेर ठूलो आर्थिक लाभ हासिल गर्न सक्छ । यसका साथै चीनतर्फ किमाथांका, ओलाङचुङगोला र भारततर्फ विराटनगर, काँकडभिट्टाजस्ता नाकाले कोशी प्रदेशलाई त्रिदेशीय आर्थिक हबको रूपमा पनि स्थापित गर्न सक्छ ।

तर यी सबै सम्भावनालाई पर्गेलेर आर्थिक समृद्धि हासिल गर्न भने कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लगानी गर्नुपर्ने विज्ञहरूको सुझाउँछ। धेरैले विकासको विषय उठाउँदा 'मुहार फेर्ने' शब्दावली प्रयोग गर्छन् । तर कोशी यस्तो प्रदेश हो जसको मुहारमा समस्यै छैन । 

राजनीतिक स्थिरता, लगानीमैत्री वातावरण, प्राकृतिक स्रोतहरूको उपयुक्त प्रयोग र जनशक्तिको यथोचित परिचालन भएमा कोशीको यही मुहार थप उज्यालो बन्नेमा शंकै छैन ।


Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।