काेशीमा रास्वपा र श्रम संस्कृतिले बढाए कांग्रेस, एमालेमाथि दबाब

फाल्गुन १५, २०८२ |विनोद घिमिरे|आनन्द गौतम|सुशीला पाठक
काेशीमा रास्वपा र श्रम संस्कृतिले बढाए कांग्रेस, एमालेमाथि दबाब

धनकुटा । सधैँजसो नेपाली कांग्रेस, नेकपा एमाले र तत्कालीन नेकपा माओवादीबीच नै त्रिपक्षीय भिडन्त हुने गरेको कोशी प्रदेशमा यसपटक माहोल फरक छ । 

नयाँ भनिएका राष्ट्रिय स्वतन्त्र पार्टी र श्रम संस्कृति पार्टीले परम्परागत मत समीकरण यसपटक बदल्नसक्ने प्रक्षेपण गरिँदै आएको छ । यही पूर्वानुमानकै कारण, कोशीमा यसपटक पुराना दलको उपस्थिति र रणनीति दुवै रक्षात्मक छ । ठीकविपरीत नयाँहरू आक्रमक रणनीतिसहित जनलहर सिर्जना गर्नेतर्फ लागिरहेका छन् । हेरौँ कोशीको परिवर्तित मनोविज्ञान पर्गेलिएको यो रिपोर्ट ।

विस्तार र पकड । कोशी प्रदेशको निर्वाचनमा यसपालि प्रतिस्पर्धीहरूको रणनीति समग्रमा यही हो । नयाँ भनिने दल तथा स्वतन्त्रतर्फका उम्मेदवारहरू प्रभाव विस्तारमा लागेका छन् भने पुराना भनिएकाहरूको रणनीति आफ्नो पकडको रक्षामा केन्द्रित छ ।

फागुन २१ को निर्वाचन आउन जम्मा ७ दिन बाँकी छ । र, धेरैको ध्यान कोशीमै केन्द्रित छ । हालसम्मको समीकरण र प्रक्षेपणअनुसार कोशीले देशको प्रधानमन्त्री चुनेर पठाउने सम्भावना उच्च छ । झापा ५ मा प्रधानमन्त्रीका दुई दाबेदार नेकपा एमालेका केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह (बालेन)बीच ‘नेक टु नेक’ प्रतिस्पर्धा हुने अनुमान छ ।

ओली र बालेनबीचको प्रतिस्पर्धा केवल दुई उम्मेदवारबीचको मात्र होइन, यो दुई विपरीत ध्रुवको संघर्ष पनि हो । भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि स्थापित नयाँ र पुराना भनिने भाष्यबीचको पनि हो । नेतृत्वको यथास्थिति र नेतृत्व परिवर्तनबीचको पनि हो । र, यी दुईको सक्रियताबाट पनि प्रस्ट हुन्छ, आक्रमक र रक्षात्मक चुनावी रणनीति । 

गत माघ ६ मा उम्मेदवारी मनोनयन दर्ता भएयता केपी शर्मा ओली चारपटक झापा ओर्लिएका छन् । आजका मितिसम्म २३ दिन झापामा बिताएका छन् । तर यही अवधिमा बालेन सातपटक झापा पुगेका छन् भने १४ दिन घरदैलो गरेका छन् ।

अरू त अरू अघिल्ला निर्वाचनमा झापा ५ लाई ‘स्योरसट’ क्षेत्र मान्ने एमालेपङ्क्ति यसपटक पूर्णतः बदलिएका छन् । ०७९ को निर्वाचनमा ओली देशदौडाहमा थिए । विभिन्न ठाउँ पुगेर एमालेका लागि मत मागेका थिए । यसपटक उनमा सायद त्यो ऊर्जा छैन वा निश्चिन्त छैनन्, आफ्नै निर्वाचन क्षेत्रमा पकड रक्षा गर्ने रणनीतिमा छन् ।

यसविपरीत बालेनले मेची-महाकाली यात्रा नै गरिसकेका छन् । रास्वपालाई मत माग्दै ठाउँ ठाउँमा चुनावी सभालाई सम्बोधन नै गरिरहेका छन् । ठीक ओलीकै जस्तो हालत छ, नेपाली कांग्रेसका नेता शेखर कोइरालाको । कांग्रेसलाई काँध लगाउनुपर्ने कोइराला आफ्नै क्षेत्रमा खुम्चिन बाध्य छन् । अर्कोतर्फ नयाँ भनिएको दल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ हर्षविभोर भएर मत माग्दै देशभर डुलिरहेका छन् ।

बलिष्ठ भनिएका दल र उम्मेदवारको यो हालत किन भयो त ? भर्खर उदाएका दलले ‘एडभान्टेज’ किन पाइरहेका छन् त ? पुराना भनिएका दल किन दबाबमा छन् त ? यसको एउटा जवाफ हो, गठबन्धनबिनाको निर्वाचन । संविधान जारी भएयताको यो पहिलो निर्वाचन हो, जहाँ दलहरूले घोषित र औपचारिक रूपमा गठबन्धन गरेका छैनन् । 

त्यसकारण यो निर्वाचन बिल्कुल फरक अग्निपरीक्षा हो । जसमा मतदाताका परिवर्तित मनोविज्ञानले ठूलो प्रभाव पारिरहेको छ । दोस्रो कारण हो, पुराना भनिएका दलहरूको कमजोर सांगठनिक उपस्थिति । जेन-जी आन्दोलनपछि देखिएको एउटा दृश्य थियो, दल त्यागको । 

थुप्रै नेता कार्यकर्ताहरूले एमाले, कांग्रेस, तत्कालीन माओवादीजस्ता दल त्यागेको भन्दै सामाजिक सञ्जालमार्फत उद्‌घोष गरेका थिए । यसले दलहरूलाई मनोवैज्ञानिक रूपमा कमजोर बनाएको छ । त्यसकारण उनीहरूले अख्तियार गरेको रणनीति रक्षात्मक छ । जसको सोझो फाइदा, रास्वपा र श्रम संस्कृतिजस्ता पार्टीलाई भइरहेको छ ।

कोशीको झापा, मोरङ र सुनसरीका सहरी क्षेत्रमा नयाँ दलको दबदबाजस्तै देखिन्छ । धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा र ताप्लेजुङलगायतका सहरी क्षेत्रमा पनि रास्वपा र श्रम संस्कृति पार्टीले उपस्थिति बढाइरहेका छन् । सामाजिक सञ्जालको प्रभाव, भ्रष्टाचारविरुद्धको भाष्य र सुशासनको प्रतिबद्धताका कारण सहरी क्षेत्रका मतदाताको रुझान उनीहरूप्रति छ । तर ग्रामीण क्षेत्रमा भने टोल तहसम्मको संगठनका कारण हालसम्म पुराना दलले आफ्नो पकड गुमाइसकेका भने छैनन् ।

कोशीमा चार जिल्लाका १७ निर्वाचन क्षेत्र सुगम मानिन्छ भने १० जिल्लाका ११ निर्वाचन क्षेत्रलाई दुर्गम मानिन्छ । फागुन २१ को तस्बिर नियाल्ने हो भने यस्तो लाग्छ, कोशीमा यसपालि पुराना दलहरूले मतदाताको परिवर्तित मनोविज्ञान पर्गेल्न सकिरहेका छैनन् । आफ्ना अजेन्डामा विश्वस्त पार्न पनि उनीहरूलाई हम्मे हम्मे परिरहेको छ । 

यसविपरीत नयाँ भनिएका दललाई मतदाता फकाउन उतिसारो मेहनत नै गर्नुपरिरहेको छैन । यद्यपि नयाँ दलप्रतिको आकर्षण र उत्साह मतपरिणाममा परावर्तन हुन भने चुनौती त छ नै ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।

Image

आनन्द गौतम

गौतम कान्तिपुर टेलिभिजनका ताप्लेजुङ संवाददाता हुन् ।

Image

सुशीला पाठक

पाठक कान्तिपुर टेलिभिजनकी मोरङ संवाददाता हुन् ।