
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा समाप्त भएको छ ।
चर्च ब्वाेईजले आफ्नो चौथो जित हात पार्दै आर्मीलाई २-१ ले पराजित गरेको हाे । एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार भएको दिनको पहिलो खेलमा चर्चले आर्मीविरूद्ध कठिन जित हात पार्यो । चर्चले सुरूवाती ८ मिनेटमै आबायोमी फाकुन्लेमार्फत् अग्रता बनाएको थियो ।
आर्मीले बारम्बार पाएको अवसरको सदुपयोग गर्न नसक्दा हार व्यहोर्नु परेको हो । पहिलो हाफमा नबिन लामाले प्रहार गरेको हाफ भली पोष्टमा लाग्दै बाहिरियो । पहिलो हाफमा १-० ले पछि परको बालगोपाल मर्हजनको टोलीले दोस्रो हाफमा कमब्याकको प्रयास गर्यो ।
दोस्रो हाफमा मैदान प्रवेश गरेका नवयुग श्रेष्ठले ४७औं मिनेटमा गोल गर्दै प्रभाव जमाए । दोस्रो हाफको सुरूवातमै पुनरागमनको प्रयास गरेको आर्मी सफल भने हुन सकेन । ६३औं मिनेटमा चर्चका सहायक प्रशिक्षक रमेश दंगाल रातो कार्ड व्यहोर्दै बाहिरिए । त्यसलगत्तै, ६४औं मिनटमा रोहन कार्कीले गोल गर्दै चर्चको जित सुनिश्चित गरे ।
जितसँगै चर्चले छैटौं खेलमा आफ्नो चौथो जित हात पार्दै १३ अंक बनाएको छ । आर्मीको भने सोही खेलमा ३ जित २ बराबरी र १ हार सहित ११ अकं छ । त्यस्तै, मंगलबारनै राष्ट्रिय लिगमा भएको दिनको दोस्रो खेलमा फ्रेन्ड्स क्लब कुपण्डोल र चित्लाङ फुटबल क्लबले गोलरहित बराबरी खेलेका छन् ।
खेल हुनुभन्दा अगाडि फ्रेन्ड्सका खेलाडीले राष्ट्रिय महिला टिमकी कप्तान साम्बालाई सर्मथन जनाउन अनुमति नपाएपछि माहोल विवादस्पद बनेको थियो ।