मातृभूमि यु-१४ क्रिकेट बिहीबारदेखि

फाल्गुन १२, २०८२ |खेल ब्युरो
मातृभूमि यु-१४ क्रिकेट बिहीबारदेखि

काठमाडौं । मातृभूमि स्कुलको आयोजनामा प्रथम मातृभूमि अन्तरविद्यालय यु-१४ टी-१० क्रिकेट प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । 

औपचारिक उद्घाटन कार्यक्रम भने बुधबार हुनेछ । बुधबारै ट्रफी पनि सर्वाजनिक गरिने आयोजक समितिका सदस्य जयराम अधिकारीले मंगलबार बौद्धमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने छ । 

सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने प्राविधिक प्रमुख रविन्द्र गुप्ताले जानकारी गराए । समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा पुग्ने छन् । विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । 

उत्कृष्ट खेलाडीलाई माउन्टेन बाइक, उत्कृष्ट ब्याट्सम्यानलाई ब्याट, उत्कृष्ट बलरलाई जुत्ता तथा प्रत्येक खेलको ‘म्यान अफ द म्याच’ लाई ट्रफी प्रदान गरिने छ । पत्रकार सम्मेलनमा मातृभूमिकी प्रिन्सिपल प्रकृति केसी पन्तले उमेरसमूहका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न अवसर दिने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताउँदै भावी खेलाडीलाई प्रेरित गर्नु पनि अर्को उद्देश्य रहेको बताइन् । 

प्रिन्सिपल पन्तले यो प्रतियोगितालाई निरन्तरता दिँदै आगामी दिन टिम उपलब्ध भएमा छात्रा टिमलाई प्रोत्साहन गर्न छात्राको बिधा पनि थप्ने प्रतिबद्धता जनाइन् । तीनदिने प्रतियोगिताका खेलहरू कागेश्वरी मनोहरा नगरपालिको विष्ट गाउँस्थित वान डे क्रिकेट एकेडेमीमा खेलाइने छ । 

पहिलो र दोस्राे दिन समान ६-६ तथा तेश्रो तथा अन्तिम दिन तीन खेल गरी प्रतियोगितामा जम्मा १५ खेल हुनेछ ।