इटालीका महिला क्रिकेट टोलीका पूर्वसंयोजकविरुद्ध यौन दुर्व्यवहारको आरोपमा छानबिन सुरु

फाल्गुन १२, २०८२ |खेल ब्युरो
इटालीका महिला क्रिकेट टोलीका पूर्वसंयोजकविरुद्ध यौन दुर्व्यवहारको आरोपमा छानबिन सुरु
काठमाडौँ । इटालियन राष्ट्रिय महिला क्रिकेट टोलीका संयोजक प्रभाथ एक्नेलिगोडाविरुद्ध टोलीकी सदस्यलाई अनुचित रूपमा छोएको आरोपमा अनुसन्धान सुरु गरिएको छ ।
मार्च २०२५ मै रोमा प्रहरीमा उजुरी परेको भए पनि इटालीले आईसीसी पुरुष टी-२० विश्वकपमा डेब्यू गरेको केही दिनपछि मात्र यो घटना सार्वजनिक भएको हो ।

पीडित खेलाडीले चोट लागेको घुँडामा मसाज गर्ने बहानामा आफूलाई दुर्व्यवहार भएको आरोप लगाएकी छिन् । यस्तै टोलीमा स्थान गुम्नसक्ने भएकाले जाहेरी दिन डराएको उनको भनाइ छ ।

नोभेम्बर २०२५ मै रोमा प्रोसिक्युटरले अनुसन्धान समाप्त गरेको र डिसेम्बरमा प्रहरीले एक्नेलिगोडाको बयान लिएको बताइएको छ । अब अदालतमा मुद्दा अघि बढाउन प्रमाण पर्याप्त छ कि छैन भन्ने निर्णय भने हुन बाँकी छ । एक्नेलिगोडाका वकिलले भने आरोप अस्वीकार गरेका छन् ।

एक्नेलिगोडा नोभेम्बर २०२५ यता नै पदबाट निलम्बित छन् । तर इटालियन क्रिकेटका सार्वजनिक कार्यक्रममा भने उपस्थित हुँदै आएका छन् ।

जारी विश्वकपमा सुपर ८ पुग्न नसके पनि इटालीले नेपालविरुद्ध १० विकेटको जित हात पार्दै इङ्ल्यान्डलाई समेत चुनौती दिएको थियो ।