काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकपको सुपर एटमा वेस्ट इन्डिजले जिम्बावेलाई १ सय ७ रनको फराकिलो अन्तरले पराजित गरेको छ । क्यारेबियन टोलीको जितमा शिमरोन हेटमायरले आक्रमक ब्याटिङ गरे ।
वानखेडे स्टेडियम मुम्बईमा टस हारेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रनको विशाल योगफल तयार पारेको थियो । जुन टी-२० विश्वकप इतिहासकै सर्वाधिक दोस्रो ठूलो योगफल हो । यसअघि सन् २००७ मा श्रीलंकाले केन्याविरुद्ध २ सय ६० रन बनाएको थियो ।
वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले ३४ बलमा ८५ रनको आक्रमक अर्धशतकीय योगदान दिए । उनको इनिङ्समा ७ छक्का र ७ चौका सामेल छन् । रोभम्यान पावेलले ३५ बलमा ५९ रनको महत्त्वपूर्ण इनिङ खेले । शेर्फन रदरफोर्डले ३१, रोमारियो शेर्फड २१ र कप्तान साई होपले १४ रनको योगदान दिए ।
जिम्बावेका लागि रिचर्ड नागरावा र ब्लेसिङ मुजरबानीले समान २-२ विकेट लिए ।
२ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले १७ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।
जिम्बावेको सुरुआत खराब रह्यो । ब्रायन बेनेट ५ रनमा अकिल होसेनको सिकार बन्दा रायन बर्लले खाता खोल्न सकेनन् । डियोन मायर्स २८ रनमा आउट भए । ब्राड इभान्सले २१ बलमा ४३ रन बनाए । उनले रिचार्ड नगराभासँग मिलेर अन्तिम विकेटका लागि ४४ रनको कीर्तिमानी साझेदारी गरे । जुन टी-२० विश्वकपमा १०औँ विकेटका लागि हालसम्मकै उच्च साझेदारी हो ।
वेस्ट इन्डिजका लागि गुडाकेश मोटीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । अकिल होसेनको नाममा ३ विकेट रह्यो ।
यससँगै सुपर एटको समूह एकमा १ खेलबाट २ अंक जोड्दै वेस्ट इन्डिज शीर्ष स्थानमा पुगेको छ । जिम्बावे पुछारमा छ । २ अंकसहित दक्षिण अफ्रिका दोस्रो र अंक विहीन भारत तेस्रो स्थानमा छ ।
सुपर एटमा आज पाकिस्तान र इङ्ल्यान्ड प्रतिस्पर्धा गर्नेछन् । विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स र म्याक्स टूबाट भइरहेको छ ।