
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा प्लानिङ ब्वाईज युनाइटेडले संकटा क्लबमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ ।
प्लानिङको जितमा पापा इबु केबेले ह्याट्रिक गरेका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा प्लानिङले संकटाविरूद्ध एकपक्षीय खेल पस्कियो । सुरूआती १९ मिनेटमै पापा इबु केबेमार्फत अग्रता बनाएको प्लानिङले ३०औं मिनेटमा श्याम मुर्मुमार्फत दोस्रो गोल थप्यो ।
पहिलो हाफमा २- ०ले पछि परेको संकटाले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरे पनि गोल फर्काउन भने सकेन । केबेले ८२औं र ९०औं मिनेटमा थप दुई गोल गर्दै ह्याट्रिक पुरा गरे । आफ्नो पछिल्लो खेलमा फ्रेन्ड्स क्लबलाई २- ० ले पराजित गरेको प्लानिङले साेमबार जित हात पार्दै जितको लय कायम राखेको हो ।
संकटाले भने पछिल्लो खेलमा मनाङ-मर्स्याङदीविरूद्ध गोलरहित बराबरी खेलेको थियो । प्लानिङले अब बिहीबार एनआरटीको सामना गर्नेछ । त्यसैगरी, शुक्रबार संकटाले मनाङसँग खेल्नेछ ।