राष्ट्रिय लिग : पुलिस क्लबमाथि जावलाखेलकाे जित

फाल्गुन ११, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग : पुलिस क्लबमाथि जावलाखेलकाे जित

काठमाडौं । राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल पुलिस क्लबलाई ३-० ले हराएको छ। 

सातदोबाटोको एन्फा कम्प्लेक्समा साेमबार भएको खेलमा जावलाखेलले सहज जित हात पारेको हो। प्रतिस्पर्धात्मक एवं रोमाञ्चक खेलमा पुलिसले पुनरागमनको अवसर सिर्जना गरेको भए पनि त्यसलाई गोलमा परिणत गर्न नसक्दा जावलाखेल विजयी भएको हो। 

सुरूआतबाटै इन्टेन्स बनेको खेलको १५औं मिनेटमा जावलाखेलका जोकहिदजोन राखिमोभ र पुलिसका सुजन मगरले पहेालो कार्डको सजाय पाए। खेलको १८औं मिनेटमा नै निकोलस ओडानेले गोल गरेर जावलाखेललाई अग्रता दिलाएका थिए। त्यसको १० मिनेटपछिट युवराज ढकालको गोलमार्फत जावलाखेलले अग्रता दोब्बर बनाएको थियो। 

दोस्रो हाफको ७६ औँ मिनेटमा भरत शाह पेनाल्टीमा चुक्दा पुलिसले अग्रता घटाउने अवसर गुमाएको थियो। त्यसको अर्को मिनेटमा जावलाखेलले अर्को गोल गर्यो। विकास दर्लामी मगरले गोल गर्दै खेललाई ३-० मा समाप्त गरेका हुन्। यो जितसँगै जावलाखेलले ६ खेलबाट नौ अंक बनाएको छ। 

पराजित पुलिसको ६ खेलमा चार अंकमात्रै छ। अब पुलिसले १४ गते नव जनजागृतिसँग खेल्ने तालिका छ भने जावलाखेलले सोही दिन त्रिभुवन आर्मीसँग खेल्नेछ।