
काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकप २०२६ को सुपर ८ मा आइतबार दुई खेल हुँदै छन् ।
दिउँसो सवा ३ बजे श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले स्डेडियममा सहआयोजक श्रीलंकाले इंग्ल्यान्डको सामना गर्दैछ । दुबै टोली जितसहित सुपर ८ चरणको सुरूवात गर्ने लक्ष्यमा हने छन् । समूह चरणमा दुवै टोलीले ४ मध्ये ३ खेल जितेका थिए । श्रीलंकाले आयरल्यान्ड, ओमान र अस्ट्रेलियालाई पराजित गरेको थियो भने जिम्बाब्वेसँग हार बेहोरेको थियो ।
इंग्ल्यान्डले नेपाल, स्कटल्यान्ड र इटालीलाई हराउँदा वेस्ट इन्डिजसँग पराजित भएको थियो । पाथुम निसांका ४ खेलमा १ सय ९९ रनसहित श्रीलंकाका लागि उत्कृष्ट ब्याटर बनेका छन् भने दुशान हेमन्थले ६ विकेट लिएका छन् । इंग्ल्यान्डका जेकब बेथेलले १ सय ४३ रन बनाएका छन् र जोफ्रा आर्चरले ६ विकेट लिएका छन् ।
पल्लेकेलेको पिच स्पिनमैत्री मानिन्छ र वर्षाको सम्भावना ६० देखि ८० प्रतिशतसम्म रहेको छ । सुपर-८ चरणको अर्को खेलमा भारत र दक्षिण अफ्रिका आमने-सामने हुनेछन् । खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ सवा ७ बजे सुरू हुनेछ । अघिल्लो संस्करणको फाइनलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै १७ वर्षपछि उपाधि जितेको थियो ।
अफ्रिकी टोली सोहि हारको बदला लिने लक्ष्यमा हुने छ । समूह चरणमा दुवै टोली अपराजित रहँदै सुपर ८ मा पुगेका हुन् । टी-२० अन्तर्राष्ट्रियमा भारत र दक्षिण अफ्रिकाबीच हालसम्म ३५ खेल भएका छन् । जसमा भारतले २१ खेल जितेको छ । यस विश्वकपमा ईशान किशन १ सय ७६ रनसहित भारतका शीर्ष स्कोरर छन् भने वरूण चक्रवर्तीले ९ विकेट लिएका छन् ।
दक्षिण अफ्रिकाका कप्तान एडन मार्करमले १ सय ७८ रन बनाएका छन् भने लुंगी एनगिडीले ८ विकेट हात पारेका छन् । अहमदाबादमा आइतबार मौसम सफा रहने अनुमान छ ।