जय ट्रफी एलिट कप : बागमती प्रदेशविरूद्ध एपीएफकाे सहज जित

फाल्गुन ९, २०८२ |खेल ब्युरो
जय ट्रफी एलिट कप : बागमती प्रदेशविरूद्ध एपीएफकाे सहज जित

काठमाडौं । जय ट्रफी पुरूष एलिट कपअन्तर्गत बलिङमा इर्शाद अहमदको उत्कृष्ट प्रदर्शन र कप्तान रोहित पौडेल तथा आसिफ शेखको सानदार ब्याटिङमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशविरूद्ध सहज जित हात पारेको छ ।

मुलपानी क्रिकेट मैदानमा पहिलो दिन एपीएफले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको बागमतीले पहिलो इनिङ्समा ५४ ओभर ४ बलमा ९ विकेट गुमाउँदै २ सय ७ रन बनाएको अवस्थामा इनिङ्स समाप्तिको घोषणा गरेको थियो । उसका लागि आशुतोष घिरैयाले ३५, सुभ कंसाकारले ३४ र विवेक मगरले सर्वाधिक ४२ रनको योगदान दिएका थिए । 

रिजन ढकाल ३५ रनमा आउट भएका थिए । एपीएफका लागि इर्शाद अहमदले ३ तथा कप्तान रोहित पौडेल र युवराज खत्रिले समान २-२ विकेट लिएका थिए । एपीएफले पहिलो इनिङ्समा ४९ ओभर २ बलमा २ सय ३९ रन बनाएको अवस्थामा अल आउट भयो । 

दिपक बोहोरा ३८ र आसिफ सेख २८ रनमा बाहिरिए । सन्दीप जोराले ६१ रनको आक्रामक अर्धशतकीय इनिङ्स खेले । कप्तान रोहितले अर्धशतक प्रहार गर्दै ८७ रन जोडे पनि अन्य खेलाडीबाट साथ पाउन नसक्दा शतक प्रहार गर्नबाट १३ रनले चुके । उनी अविजित रहँदै पभेलियन फर्किएका थिए । 

बागमतीका लागि रिजनले ३ विकेट लिएका थिए । ३२ रनले पछि परेको अवस्थाबाट दोस्रो इनिङ्स थालेको बागमतीले खराब सुरूवात गरेको थियो । नाइट वाचम्यानको रूपमा क्रिजमा आएका सुर्य तामाङ १ रनमा आउट भएपछि बागमतीले १ रन जोड्दा १ विकेट गुमाएको अवस्थामा पहिलो दिनको खेल सकिएको थियो ।

३१ रनले पछि परेको अवस्थाबाट दोस्रो दिनको सुरूवात गरेको बागमती दोस्रो इनिङ्समा ४७ ओभर १ बलमा १ सय ६७ रनमा अलआउट भएको थियो । बागमतीका कप्तान इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए । शुभ कंसाकारले २६ तथा आशुतोष घिरैयाले २१ रन जोडे । एपीएफका लागि इर्शादले ५ तथा अभिषेश गौतम र रोहितले २-२ विकेट लिएका थिए ।

जवाफमा १ सय ३७ रनको लक्ष्य एपीएफले दोस्रो सत्रमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । आसिफ शेखले ५९ रन बनाए । दीपक बोहराले १२ रन जोडे भने लोकेश बम ५ रनमा अविजित रहे । कप्तान रोहित पौडेल ५६ रनमा अविजित रहे । बागमतीका लागि रिजन र सुर्य तामाङले १-१ विकेट लिए पनि पर्याप्त भएन । 

एपीएफको सानदार जितमा इर्शाद अहमदले समग्रमा ८ विकेट लिए भने कप्तान रोहितले दुबै इनिङ्समा अविजित अर्धशतकीय योगदान दिए । जितसँगै तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले २६ दशमलव ५ अंक जोडेको छ । पराजित बागमतीले १२ अंक जोडेको छ । उ चार टोली सम्मिलित प्रतियोगिताको तेस्रो स्थानमा छ ।