
धनुषा । धनुषालगायत मधेश प्रदेशका जिल्लाहरूमा धान उत्पादनमा ह्रास आए पनि यसवर्ष आँप उत्पादनमा वृद्धि हुने सम्भावना रहेको छ ।
फागुन महिना सुरू भएसँगै रूखमा पात ढाक्ने गरी फुल लागेका कारण उत्पादनमा वृद्धि हुने अनुमान छ । चैत्र र वैशाख महिनमा चल्ने हाँवाहुरी, असिना र मधुवालगायतका रोगबाट जोगाउन सके किसानहरूलाई आँप उत्पादनले राम्रै आम्दानी हुने छ । आँप खेतीका लागि धनुषा, सिरहा, सप्तरीलगायतका जिल्ला प्रख्यात छन् ।
पुर्वपश्चिम राजमार्गलगायत उत्तरी क्षेत्रका हजारौं किसान व्यावसायिक रूपमा आँप खेती गर्दै आएका छन् भने मधेशको दक्षिणी भेगमा अहिले पनि परम्परागत रूपमा आँप उत्पादन हँदै आएको छ । मधेशका जिल्लामा फल्ने आँपको माग काठमाडौं, पोखरालगायतका सहरहरूमा अत्याधिक रहेका कारण फुल लागेसँगै व्यवसायीहरूले बगैचानै ठेक्कामा लिने चलन रहेको छ ।
उष्ण प्रदेश क्षेत्रको माटोमा उत्पादन हुने सबैभन्दा बढी मालदह, दसहरी,आम्रपाली, बमोई, कलकतियालगायतका आँप स्वादिष्ट, रसिलो र पोषिलो हुने गर्दछ । एक तथ्याङ्क अनुसार देशभर ४२ हजार ७ सय ७३ हेक्टर मध्ये मधेश प्रदेशमा मात्रै २९ हजार ९९ हेक्टर क्षेत्रफलमा आँप खेती हुने गरेको छ ।
कृषि ज्ञान केन्द्रका अनुसार सबैभन्दा बढी सिरहामा १ लाख ४ हजार ६ सय ७६ र सबैभन्दा कम पर्सामा ४ हजार ७ सय ३१ मेट्रिक टन आँप उत्पादन हुने गरेको । कुल उत्पादनको ७७ दशमलव एक प्रतिशत आँप मधेशमा फल्ने गरेको छ ।