
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रा.डा कुमार इङ्नामले सरकारी सेवा प्रभावकारी नभएका कारण नेपाली नागरिकहरू विदेश पलायन भइरहेको बताउनुभएको छ ।
उहाँले भूमि, मालपोत र नापी जस्ता क्षेत्रहरू आम सर्वसाधारणको मुख्य सरोकारको विषय भएकोले यी क्षेत्रमा सुशासन कायम गर्नसके सकारात्मक सन्देश जाने र राजश्व पनि वृद्धि हुने धारणा राख्नुभएको हो । आइतबार काठमाडौं महानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा मन्त्री इङ्नामले विदेशमा नागरिक पलायन हुनुको कारक यहाँको सरकारी सेवा प्रभावकारी नहुनु पनि एक रहेको बताउनु भयो ।
भूमि, मालपोत, नापीमा सर्वसाधरणको सरोकार भएको ठाउँ भएको र ती अड्डाहरूमा घुसको लेनदेन हुँदा आम सर्वसाधरण निराश बनिररहेको उहाँको भनाइ छ । उहाँले भूमि, मालपोत, नापीमा सुशासन कायम राख्न जरूरी रहेको बताउनु भयो । मन्त्री इङ्नामले भूमि मन्त्रालयले हालै जारी गरेको सर्कुलरको बारेमा पनि उल्लेख गर्दै यसले राजश्वमा करिब ५० अर्ब रूपैयाँको फरक पार्ने बताउनु भयो ।
मन्त्री इङ्नामकाअनुसार जग्गा खरिद बिक्री गर्दा गर्ने रियल कारोबारको रकम र मालपोतमा गरिने कारोबारको रकम हेर्दा अधिकांश राजश्व छल्ने राजश्व मारा नै देखिएका छन् । उहाँकाअनुसार भूमि मन्त्रालयले भर्खरै एउटा सर्कुलर जारी गरेको छ । त्यसले राजस्वमा ५० अर्ब वृद्धि हुने उहाँकाे भनाइ छ । जग्गा खरिदबिक्रीमा हुने राजश्व छलीको विषयमा बोल्दै मन्त्री इङ्नामले वडामा दर्ता भएको तमसुक (लिखत)लाई आधार मानेर राजश्व असुल गर्न निर्देशन दिइएको स्पष्ट पार्नुभयो ।
उक्त सर्कुलरअनुसार अब यदि कुनै जग्गा खरिद बिक्रीका लागि वडामा दर्ता गरेको तमसुकलाई आधार मानेर राजश्व असुल गर्न मालपोतसहितका सरोकारवाला निकायहरूलाई निर्देशन दिइएको उहाँको भनाइ छ । मन्त्री इङ्नामले राज्यको उन्नति र प्रगतिका लागि कर्मचारीतन्त्रको इमानदारिता महत्वपूर्ण हुने बताउनु भयो ।
उहाँकाअनुसार यो राज्यमा बस्न लायक, भरोसा गर्न लायक कर्मचारी प्रशासनले नै गराउनुपर्छ । सेवाग्राहीप्रति कर्मचारीको व्यवहारमा समेत आमुल सुधार आउनुपर्ने मन्त्री इङ्नाले बताउनु भयो । उहाँकाअनुसार कोही पनि सेवा ग्राहीलाई कर्मचारीले निराश पार्न हुँदैन । हुनसक्ने कामहरूमा निराश बनाउँदा पनि जनतामा निराशा चुलिएको छ । कर्मचारीतन्त्रले हुने काम समयमै गरिदिनुपर्ने उहाँको भनाइ छ ।