१२ वर्षपछि आहा रारा गोल्डकपको च्याम्पियन बन्याे सहारा क्लब

फाल्गुन ९, २०८२ |खेल ब्युरो
१२ वर्षपछि आहा रारा गोल्डकपको च्याम्पियन बन्याे सहारा क्लब

पाेखरा । आयोजक सहारा क्लब पोखरा १२ वर्षपछि आहा रारा पोखरा गोल्डकपको च्याम्पियन बनेको छ । 

२५औं संस्करणकोे प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गर्दै सहारा उपाधि घरमै राख्न सफल भएको हो । पोखरा रंगशालामा सहारालाई च्याम्पियन बनाउन मुकुन्द निउरे र विदेशी खेलाडी ताय डेनियल बडारूले एक-एक गोल गरे । 

२५औं मिनेटमा सहाराका कप्तान सुशील लामाले प्रहार गरेको कर्नर किकलाई निउरेले हेडमार्फत पोस्टको दिशा देखाएपछि सहाराले सुरूवाती अग्रता बनाएको थियो । ७३औं मिनेटमा पुनः सुशील लामाले दिएको क्रसलाई डेनियलले हेडमार्फत गोल गरेपछि सहाराले जित सुनिश्चित गर्यो ।

यसअघि सहाराले २०७० सालमा मनाङ मर्स्याङदी क्लबलाई फाइनलमा हराउँदै पहिलो उपाधी जितेको थियो । १४ वर्षपछि फाइनलमा पुगेको जवलाखेल पुनः एक पटक उपाधिबाट चुक्यो । उपाधि विजेता सहाराले नगद १४ लाख एक हजार रूपैयाँ पुरस्कार प्राप्त गर्‍यो भने उपविजेता बनेको जावलाखेलले सात लाख एक हजार रूपैयाँमा चित्त बुझायो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी मुकुन्द निउरे बन्न सफल भए । उनले टेलजी कम्पनीको स्कुटर पुरस्कार जित्न सफल भए । उत्कृष्ट फरवार्ड जाउलाखेलका धमेन्द्र कुँवर बन्न सफल भए भने उत्कृष्ट प्रशिक्षक सहारा क्लबका सुनिल रानामगर, उत्कृष्ट मिडफिल्डर जाउलाखेलका बबाकुर सिका, उत्कृष्ट डिफेन्डर सहारा क्लबका ताय डेनियल बडारू, उत्कृष्ट गोल रक्षक सहारा क्लबका टेकेन्द्र थापा र सर्वाधिक गोल कर्ता प्लानिङ ब्वाईज युनाइटेडका पापा युवुवा केबेले जिते । 

त्यसै गरी वर्ष उदयमान खेलाडीबाट मुकुन्दकुमार निउरे र फेयर प्ले टिम आभा एफसी उज्वेकिस्तानले घोषित भए । विधगत तर्फ उपाधि जितेकाले नगद २५ हजार प्राप्त गरे ।