एन्फा महिला च्याम्पियनको उपाधि एपीएफलाई

फाल्गुन ९, २०८२ |खेल ब्युरो
एन्फा महिला च्याम्पियनको उपाधि एपीएफलाई

उदयपुर । एन्फा महिला च्याम्पियनको उपाधि विभागिय टोली नेपाल एपीएफ क्लबले जितेको छ । 

शनिबार सम्पन्न फाइनल खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । उदयपुरको गाईघाटस्थित थारूहट रङ्गशालामा सम्पन्न फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । 

खेलको ५५औं मिनेटमा गीता रानाले डेडलक तोड्दै एपीएफलाई सुरूवाती अग्रता दिलाएकी थिइन् । ६८औं मिनेटमा रेणुका नगरकोटीले गोल थपेपछि एपीएफले २-० को अग्रता बनाएको थियो । त्यसको ३ मिनेटपछि जेनिफर रानाले गोल गर्दै आर्मीलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर त्यपछि दुवै पक्षबाट थप गोल हुन नसक्दा एपीएफ च्याम्पियन बन्यो । 

च्याम्पियन बनेसँगै एपीएफले ७ लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गर्यो । उपविजेतामा सीमित आर्मीले पाँच लाख रूपैयाँमा चित्त बुझायो ।