
काठमाडौं । जय ट्रफी क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबमाथि ९ विकेटको प्रभावशाली जित दर्ता गरेको छ।
भीम सार्कीको सानदार शतक र आर्मीका बलरहरूको उत्कृष्ट प्रदर्शनको मद्दतले आर्मीले पहिलो खेलमै जित हात पारेको हो । टस जितेर आर्मीले पहिले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको पुलिस क्लबले ५३ दशमलव ३ ओभरमा ८ विकेटको क्षतिमा एक सय ८७ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गर्यो ।
पुलिसका राशिद खानले ५५ बलमा ३८ रनको योगदान दिए भने आर्मीका पवन कार्कीले १० दशमलव ३ ओभर बलिङ गर्दै ५१ रन खर्चेर ४ विकेट लिएका थिए । जवाफी ब्याटिङमा आर्मीका भीम सार्कीले १ सय १३ बलमा १ सय ५ रनको सानदार अविजित शतकीय इनिङ्स खेले ।
आर्मीले ४० ओभरमा २ सय ३४ रन बनाउँदै ९ विकेटको क्षतिमा आफ्नो इनिङ्स समाप्तिको घोषणा गरेको थियो। पुलिसका तर्फबाट सागर ढकालले १७ ओभरमा ९२ रन खर्चेर ६ विकेट लिए पनि आर्मीले पहिलो इनिङ्समा अग्रता बनाउन सफल भयो ।
४७ रनले पछि परेको पुलिसले पहिले दिनको खेल समाप्त हुँदा एक विकेट गुमाएको अवस्थामा २३ रन जोडेको थियो। यहीबाट शनिबारको खेल सुरू भएको थियो। पुलिसले दोस्रो इनिङमा फितलो ब्याटिङ गरेपछि ३८ दशमलव २ ओभरमा ८८ रन बनाएर अलआउट भयो।
ओपनर कुशल भुर्तेलले ४८ रन बनाए पनि अन्य ब्याटर चल्न सकेनन्। आर्मीका बसिर अहमदले ९ ओभरमा १६ रन मात्रै खर्चेर ४ विकेट लिँदै पुलिसको इनिङ्स ध्वस्त पारेका हुन्। जितका लागि पाएको ४३ रनको लक्ष्य आर्मील छैटौं ओभरमा १ विकेट गुमाएर पूरा गयो ।
कुशल मल्लले २४ बलमा ४२ रनको विष्फोटक अविजित इनिङ्स खेल्दै टोलीलाई ९ विकेटको जित दिलाए । पुलिसका ललित नारायण राजवंशीले मात्रै विकेट लिए । पुलिस र आर्मीबीचको दुई दिवसीय खेल साढे एक दिनमा नै सकिएको छ। यो जितसँगै त्रिभुवन आर्मी क्लबले बलियो सुरुवात गरको छ । पुलिसले अब सोमबार र मंगलबार एपीएफको सामना गर्नेछ । त्यस्तै, आर्मीले आफ्नो दोस्रो खेलमा सोहि दिन बाग्मतीसँग खेल्नेछ ।