नेइमारले २०२६ को अन्त्यमा सन्यास लिन सक्ने‍

विश्वकप खेल्ने चाहना कायम
फाल्गुन ९, २०८२ |खेल ब्युरो
नेइमारले २०२६ को अन्त्यमा सन्यास लिन सक्ने‍

काठमाडौं । ब्राजिलका स्ट्राइकर नेइमारले २०२६ को अन्त्यमा सन्यास लिन सक्ने बताएका छन् । 

३४ वर्षिय नेइमार अहिले आफ्नो बाल्यकालको क्लब सान्तोषबाट खेलिरहेका छन् । उनले ब्राजिलबाट सन २०२६ को फिफा विश्वकप भने खेल्ने विश्वास व्यक्त गरे । उनी गत जनवरीमा साउदी प्रो लिग क्लब अल हिलालबाट सान्तोषमा पुन: आबद्ध भएका हुन् । 

नेइमारको सान्तोषसँगको सम्झौता यो वर्षको अन्तिमसम्म छ । उनको करियरलाई चोटले असर गरेको हो । गत साता मात्र नेइमार मैदान फर्किएका हुन् । ब्राजिलको एक अनलाइनसँग कुरा गर्दै नेइमारले भने, 'मलाई थाहा छैन भोलि के हुन्छ, सायद अब आउने डिसेम्बरमा म सन्यास लिन सक्छु ।'

उनी ब्राजिलका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले राष्ट्रिय टिमका लागि ७९ गोल गरेका छन् । जुन लेजेन्ड्री पेलेको भन्दा दुई गोल बढी हो । तर उनले २०२३ अक्टोबर यता ब्राजिलबाट खेलेका छैनन् । यो वर्ष क्लब र ब्राजिलका लागि मात्र नभएर आफ्ना लागि पनि महत्वपुर्ण रहेको नेइमारको भनाइ छ । 

२०१७ मा नेइमार बार्सीलोनाबाट किर्तिमानी दुईसय मिलियन पाउन्डमा पेरिस सेन्ट जर्मेन-पीएजी गएका थिए ।