.png&w=1000&height=550)
काठमाडौं । लगातार तेस्रो हारसँगै नेपाल आईसीसी पुरूष टी-२० विश्वकप-२०२६ को समूह चरणबाट बाहिरिएको छ।
मुम्बईस्थित वानखेडे रंगशालामा नेपाल वेस्ट इन्डिजसँग नौ विकेटले पराजित भएको हो। नेपाल यसअघि इंग्ल्यान्ड र इटालीसँग पनि पराजित भएको थियो।
वेस्ट इन्डिजले टस जित्दै बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो । नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ३३ रन जोड्यो । पावरप्लेमा नेपालले यस विश्वकपकै खराब सुरूवात गर्यो । नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै २२ रनमात्र जोड्न सफल भयो ।
सुरूआतमा दबाबमा परेको नेपालले सातौं विकेटका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीबीच २६ बलमा ५४ रनको महत्वपूर्ण साझेदारी पाएपछि सम्मानजनक स्कोरतर्फ अघि बढेको हो । यो साझेदारी नेपालका लागि टी-२० विश्वकप इतिहासकै सातौं विकेटको सबैभन्दा ठूलो साझेदारीसमेत बनेको छ।
दिपेन्द्र टी-२० विश्वकपमा नेपालका लागि सर्वाधिक रन बनाउने खेलाडीसमेत बनेका छन्। । साथै, सुवास खकुरेलपछि विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने। आज उनले ४७ बलमा ५८ रनको उत्कृष्ट पारी खेले । ओपनर कुशल भुर्तेल १ रनमै आउट भए भने आसिफ शेखले ११ रन बनाए।
अन्त्यतिर सोमपाल कामीले १५ बलमा २६ रनको आक्रामक पारी खेल्दै स्कोर मजबुत बनाए। बलिङमा जेसन होल्डरले सर्वाधिक ४ विकेट लिए । त्यस्तै, आकेल होसेन, म्याथ्यु फोर्ड, स्याम्पर जोसेफ र रोस्टनन चेजले समान १-१ विकेट हात पारे ।
जवाफी ब्याटीङमा वेस्ट इन्डिजले १ सय ३४ रनको लक्ष्य पछ्याएको थियो । ओपनर ब्राण्डन किङले १७ बलमा २२ रन जोड्दै पभेलियन फर्किए । बलिङमा नेपालबाट नन्दन यादवले एक विकेट लिए पनि बाँकी बलर विकेटविहीन रहे। वेस्ट इन्डिजका ओपनर ब्रान्डन किङ २२ रनमा आउट भए। साइ होपले सर्वाधिक ६१ रन जोडे। सिमरन हेट्मायरले ४६ रनको योगदान गरेका थिए। आजकाे जितसँगै वेस्ट इन्डिजले सुपर ८ मा स्थान पक्का गरेकाे छ ।