टी-२० विश्वकप : नेपालले आइतबार दुई पटकको च्याम्पियन इङ्ल्यान्डको सामना गर्ने

माघ २४, २०८२ |कान्तिपुर टीभी संवाददाता
टी-२० विश्वकप : नेपालले आइतबार दुई पटकको च्याम्पियन इङ्ल्यान्डको सामना गर्ने

काठमाडौं । शनिबारदेखि सुरु भएको टी-२० विश्वकपअन्तर्गत नेपालले आइतबार आफ्नो पहिलो खेलमा दुईपटकको विश्व च्याम्पियन इङ्ल्यान्डको सामना गर्नेछ । मुम्बईको वानखडे रंगशालामा दिउँसो सवा तीन बजेबाट सुरु हुने खेलमा नेपाल टेस्ट टोलीलाई हराउने लक्ष्यसाथ मैदानमा उत्रनेछ ।

इतिहासमै पहिलोपटक नेपालले इङ्ल्यान्डको सामना गर्न लागेको हो । इङ्लिस कप्तान ह्यारी ब्रुकले नेपाललाई कमजोर नसोचेको प्रिम्याच प्रेस कन्फरेन्समा बताएका छन् । घरेलु क्रिकेटमा सम्पन्न इङ्ल्यान्डसँग सबै डिपार्टमेन्टमा उत्कृष्ट खेलाडी छन् । इङ्ल्यान्डसँग खेल्दा नेपालले आद्रता धेरै भएको मुम्बईमा कन्डिसनको फाइदा उठाउन सक्नुपर्ने हुन्छ ।

मुम्बईको मैदान फास्ट बलरहरूका लागि सहयोगी मानिन्छ । यो मैदानमा धेरै स्विङ हुने भएकाले नेपालका लागि सोमपाल कामी र करण केसी प्रमुख हतियार हुनेछन् । यस्तै नन्दन यादवको प्रदर्शन खेलको केन्द्रमा रहनेछ ।

७० मिटर बाउन्ड्री रहेको मैदानमा उच्च स्कोरको खेल हुने अपेक्षा गरिएको छ । ब्याटिङमा विश्ववरीयताको दोस्रो स्थानका रहेका फिल सल्ट र तेस्रो स्थानका जस बटलर नेपालका लागि ठूलो चुनौती हुन् ।

नेपालको ब्याटिङ स्ट्रेन्थ भने ओपनर आशिफ शेख र कुशल भुर्तेलसँगै सन्दीप जोरा र लोकेश बमले आक्रामक खेल्न सक्छन् वा सक्दैनन् भन्नेमा निर्भर गर्छ । कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीबाट जिम्मेवारीपूर्ण अलराउन्ड प्रदर्शनको आशा गरिरहँदा गुल्सन झाले क्यामियोमा राम्रो गर्न सक्नेछन् ।

नेपालले आदिल रशीद, लियम डसनको बलिङमा जोगिएर खेल्नुपर्नेछ । जोफ्रा आर्चरले कुनै पनि अवस्थामा टिमलाई कमब्याक गराउन सक्ने भएकाले नेपालले हरेक बलमा सम्हालिएर प्रदर्शन गर्नु आवश्यक छ ।

इङ्ल्यान्डले गत जनवरीमा भएको एसेज सिरिजमा ४-१ को हार बेहोरेको थियो । त्यसअघि न्युजिल्यान्डसँगको सिरिजमा पनि सोचेझैँ नतिजा हात पार्न नसकेको यो टोली त्यसपछि श्रीलंकाविरुद्धका दुई सिरिजमा नै सानदार जित हात पारेपछि उच्च मनोबलका साथ विश्वकपमा आएको छ । नौ पटक विश्वकपमा सहभागी हुँदा उसले सन् २०१० र २०२२ मा उपाधि जितेको थियो । हरेक पटक शीर्ष ८ मा परेको टोलीसँगको प्रतिस्पर्धा नेपालका लागि कठिन नै हुनेछ ।

मुम्बईमा आइतबार मौसम सफा रहनेछ भने तापक्रम २२ देखि ३० डिग्रीको बीचमा रहनेछ । नेपालले इङ्ल्यान्डसँगको खेलअघि वानखडेमा भने अभ्यास गर्न पाएन ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.