
काठमाडौं । आफ्नो दोस्रो आधिकारिक वार्मअप खेलमा क्यानडालाई ६ विकेटले पराजित गर्दै नेपालले आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अघिको सम्पूर्ण तयारी पुरा गरेको छ ।
अघिलो वार्म अप खेलमा युएईलाई ७ विकेटले पराजित गरेको नेपालले यस खेलमा पनि सोही लयलाई निरन्तरता दिएको हो ।
चेन्नइस्थित एमए चिदम्बरम स्टेडियममा टस जितेर ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६१ रनको योगफल तयार पारेको थियो । सोमपाल कामीले ओपनर युवराज सम्रालाई ७ रनमा पवेलियन फर्काएपछि नेपालले सानदार सुरुवात गरेको थियो । ओपनर नवनीत धलिवालले ३६ बलमा सर्वाधिक ४१ रनको योगदान दिए । कनवारपुल ताथगुरले २५ र जसकरण सिंहले २१ रन बनाए । निकोलस किर्तन १० रनमा बाहिरिए । विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभा १९ बलमा ३८ रन जोड्दै नटआउट रहे । नेपालका लागि सन्दीप लामिछाने र कुशल भुर्तेलले समान दुई-दुई विकेट लिए । सोमपाल कामी र नन्दन यादवको नाममा १-१ विकेट रह्यो ।
१ सय ६२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभरमा ४ विकेटको क्षतिमा जित हासिल गर्यो ।
ओपनर कुशल भुर्तेललाई १२ रनमा गुमाए पनि आसिफ सेख र सन्दीप जोराले सानदार ब्याटिङ गर्दै नेपाललाई अघि बढाए । २९ बलमा ५८ रन बनाउँदै आसिफ रिटाएर्ड आउट भए । सन्दीप जोराले ४४ रनको योगदान दिए । लोकेश बमले ५ रन मात्र बनाउन सके । गुल्सन झा ३१ र दिपेन्द्रसिह ऐरी ९ रनमा अविजित रहँदै नेपाललाई जित दिलाए । क्यानडाका लागि जसकरण सिंह, साद बिन जाफर र अजयवीरले समान १-१ विकेट लिए ।
नियमित कप्तान रोहित पौडेल क्याप्टेन्स टिमका लागि मुम्बई पुग्दा नेपाल उपकप्तान दिपेन्द्र सिंह ऐरीको नेतृत्वमा मैदानमा उत्रिएको थियो । अब नेपाल विश्वकपका आफ्ना खेल खेल्न मुम्बई जानेछ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरूआत गर्नेछ । नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज अनि फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ । समूह सीमा रहेको नेपालले समूह चरणका आफ्ना सबै खेल मुम्बईस्थित वानखेडे स्टेडियममा खेल्ने छ । टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।