
काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज ३ खेल हुँदैछन् । श्रीलंकाको कोलम्बोस्थित सिंहली स्पोर्ट्स क्लबमा अहिले पाकिस्तान र नेदरल्यान्ड्स बीचको प्रतिस्पर्धा जारी छ।
पाकिस्तानले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि नेदरल्यान्ड्सले ब्याटिङ गरिरहेको छ। उसले उसले २ विकेट गुमाउँदा ३१ रन बनाएको थियो। यतिबेलासम्म सलमान मिर्जा र मोहम्मद नवाजले एक-एक विकेट लिएका थिए।
भारतसँगको खेल बहिष्कार गर्ने सरकारको निर्णयका कारण पाकिस्तान सुरुदेखि नै अंक तालिका र नेट रनरेटको दबाबमा छ । त्यसैले पाकिस्तानका लागि प्रतियोगिताको पहिलो खेल जित्नु निकै महत्वपूर्ण हुनेछ ।
पाकिस्तान र नेदरल्यान्ड्सबीच अहिलेसम्म २ वटा टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् र दुवै खेल पाकिस्तानले जितेको छ । पछिल्ला ९ महिनामा पाकिस्तानले सबैभन्दा धेरै टी-२० अन्तर्राष्ट्रिय खेल खेलेको छ । यस अवधिमा पाकिस्तानले १० देशविरुद्ध ३४ खेल खेल्दै २४ खेल जितेको छ । हालै अष्ट्रेलियालाई ३-० ले क्लिन स्वीप गरेको पाकिस्तानले राम्रो तयारी गरेको छ ।
समूह सी अन्तर्गत सवा ३ बजे इडन गार्डन कोलकातामा वेस्टइन्डिज र स्कटल्यान्डबीच खेल हुने छ । बंगलादेशले टी-२० विश्वकप खेल्न अस्विकार गरेपछि स्कटल्यान्डले अवसर पाएको हो । वेस्टइन्डिज भने २ पटकको टी-२० विश्वकप च्याम्पियन हो । यी दुई टोलीबीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा स्कटल्यान्डले वेस्टइन्डिजलाई ४२ रनले हराएको थियो । वेस्टइन्डिज टोली अनुभव र शक्तिको राम्रो संयोजनका साथ मैदान उत्रनेछ ।
सवा ७ बजे वानखेडे स्टेडियममा डिफेन्डिङ च्याम्पियन तथा आयोजक भारतले अमेरिकाको सामना गर्ने छ । यस खेलअघि औपचारिक कार्यक्रमबीच विश्वपको सुरुवात गरिने छ ।
भारत उपाधि जोगाउने लक्ष्यसहित प्रतियोगितामा प्रवेश गर्दैछ । टी-२० विश्वकपको इतिहासमा अहिलेसम्म कुनै पनि टोलीले लगातार उपाधि रक्षा गर्न सकेको छैन । विश्वकप जितेपछि भारतले कुनै पनि टी-२० सिरिज हारेको छैन । पछिल्लो विश्वकपपछि भारतले ३४ खेल खेल्दै २५ जित हात पारेको छ ।
भारतीय टोलीको सबैभन्दा ठूलो शक्ति यसको आक्रामक ब्याटिङ हो । अभिषेक शर्मा, ईशान किशन र सूर्यकुमार यादव जस्ता ब्याटरले कुनै पनि बेला खेल पल्टाउन सक्छन्। बलिङमा जसप्रित बुमराह र अर्शदीप सिंह मुख्य हतियार हुन् । अमेरिका एसोसियट टोली भएपनि अघिल्लो विश्वपमा पाकिस्तानलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । सोही कारण उसले सिधै विश्वपमा स्थान बनाउको थियो ।
आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट हुने छ ।