.png&w=1000&height=550)
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा साना र नयाँ राजनीतिक दलहरू मतदाताको घरदैलो गर्न सक्रिय देखिएका छन्।
पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी होस् वा नयाँ दलका रूपमा चुनावमा सहभागी हुँदै गरेका उज्यालो नेपाल पार्टीदेखि श्रम संस्कृति पार्टीसम्मले आफ्ना उम्मेदवार रहेका निर्वाचन क्षेत्र र जिल्लामा चुनावी गतिविधि बढाउँदै जनाधार स्थापित गर्ने प्रयास गरिरहेका छन् । उनीहरू पुराना दलले जनअपेक्षा अनुसार काम गर्न नसकेको दाबी गर्दै मतदातासँग संवाद बढाइरहेका छन्। साना र नयाँ दलहरूको यो सक्रियताले मतदाताको धारणा र चुनावी नतिजामा कस्तो असर पार्ला भन्ने चासो बढेको छ।
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट पार्टीका पोलिटब्युरो सदस्य चुडामणि वलीलाई उम्मेदवार बनाएको छ । विद्यार्थी राजनीतिबाट उदाएका वली दश वर्षे सशस्त्र द्वन्द्वमा लामो समय प्रहरी हिरासतमा बस्नुभएको थियो । सशस्त्र द्वन्द्वक्रममा वलीले भाइसमेत गुमाउनुभएको थियो । शान्ति प्रक्रियापछि पनि भूमिगत राजनीतिक गर्दै आएका वली उम्मेदवार बनेपछि मोटरसाइकल चढेर प्राय एक्लै गाउँगाउँ डुल्दै मतदातामाझ पुगिरहनुभएको छ । वली मदतादासँग व्यस्त रहँदा उहाँको पार्टीले यसपटकको निर्वाचनमा रोल्पाली मतदाताले नयाँ व्यक्ति चुन्ने दाबी गरेको छ । रोल्पालाई आफ्नो आधार इलाका दाबी गर्ने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको यो पार्टीले रोल्पाका नागरिकको सडक, स्वास्थ्य, शिक्षालगायतका आधारभूत सेवासुविधासमेत नपाएको गुनासो सम्बोधन गर्ने बताएको छ ।
उता दलीय र स्वतन्त्र गरी १७ जना उम्मेदवार रहेको धनकुटामा जसपा नेपाल, श्रमसंस्कृति पार्टी, नेमकिपा, आमजनता पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, मंगोल नेशनल अर्गनाइजेसनलगायतका दलका पनि उम्मेदवार छन् । श्रमसंस्कृति, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय परिवर्तन पार्टीलगायतले वडा र स्थानीय तहमा कमिटी गठन, घरदैलो, भेटघाट र सभालगायतका कार्यक्रम गरिरहेका छन् । उनीहरू पुराना र ठूला भनिएका दलले धनकुटाका नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै आफ्नो पक्षमा जनमत सिर्जना गर्न लागिपरेका छन् ।
दाङका ३ वटै निर्वाचन क्षेत्रमा दलीय ४४ र स्वतन्त्र १६ गरी ६० उम्मेदवारहरू मतदाताको घरदैलो धाइरहेका छन् । त्यहाँ उम्मेदवारी दिएका साना दलका उम्मेदवारहरू आफ्ना एजेन्डा जनतामाझ लैजाने र मत माग्ने काम गरिरहेका छन् । कांग्रेस, एमाले, नेकपा, रास्वपासँगै दाङमा अन्य १२ साना दलले उम्मेदवारी दिएका छन् । पहिलोपटक निर्वाचनमा होमिएको विप्लब नेतृत्वको नेकपा माओवादी, आम जनता पार्टी, राष्टिय परिवर्तन पार्टी, नेशनल रिपब्लिकन पार्टी, मितेरी पार्टी नेपाल, आम जनता पार्टीलगायतका दलले चुनावी गतिविधि गरिरहेका छन् । भाले चुनाव चिह्न लिएर प्रत्यासी बनेको मंगोल नेसनल अर्गनाइजेसनले २०७९ को निर्वाचनमा दाङमा समानुपातिकतर्फ २ हजारभन्दा कम मत ल्याएको थियो । यसपटक मतदाता आकर्षित गर्ने यो पार्टीका एजेन्डा केके हुन् त ?
कञ्चनपुरमा पनि नयाँ दलहरूले जनमत आफ्नो पक्षमा पार्न मतदाता भेटघाटलाई तीव्रता दिएका छन्। त्यसक्रममा उनीहरूले आफ्ना चुनावी प्रतिवद्धता र एजेन्डा पनि प्रस्तुत गरिरहेका छन् ।
अन्य साना दलका उम्मेदवारहरुले पनि कञ्चनपुरमा मतदाता भेटघाटलाई तिव्रता दिएका छन् । कञ्चनपुरका तीनवटा निर्वाचन क्षेत्रबाट ५५ जना उम्मेदवार छन् ।