
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप २०२६ मा सहभागी हुने सबै १२ टोलीको टुङ्गो लागेको छ ।
नेपालमा सम्पन्न आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा अमेरिकालाई ४१ रनले पराजित गर्दै स्कटल्यान्ड महिला टी-२० विश्वकपमा छनोट हुने १२औं टोली बन्यो । ग्लोबल छनोटबाट शीर्ष चार टोली विश्वकपमा छनोट हुने प्रावधानअनुसार स्कटल्यान्ड तेस्रो स्थानमा रहँदै बंगलादेश, आयरल्यान्ड र नेदरल्यान्ड्ससँगै इंग्ल्यान्डमा आयोजना हुने विश्वकपमा पुग्ने भएको हो ।
बंगलादेश अपराजित रूपमा ग्लोबल छनोटको च्याम्पियनका रूपमा विश्वकपमा पुग्दा आजै बंगलादेशसँग पराजित नेदरल्यान्ड्स यसअघि नै विश्वकपमा पुगिसकेको थियो । यस्तै थाइल्यान्डलाई पराजित गर्दै आयरल्यान्डले पनि महिला टी-२० विश्वकपमा स्थान बनाउन सफल भएको हो ।
टीयू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७८ रनको योगफल तयार गरेको थियो । ओपनर डार्सी कार्टरले अर्धशतक ५२ रन प्रहार गर्दा एल्सा लिस्टरले ४३ रन र प्रियानाज चटर्जीले ३९ रनको योगदान दिइन् । अमेरिकाका लागि तारा नोरिसले ३ विकेट लिइन् ।
१ सय ७९ रनको लक्ष्य पछ्याएको अमेरिका सुरूआतदेखि नै दबाबमा रह्यो । कप्तान ब्राइसले पहिलो ओभरमै ओपनर दिशा ढिङ्ग्रालाई डक आउट गर्दै टिमलाई उत्कृष्ट सुरुआत दिलाइन् । त्यसपछि उनले इसानी वाघेलालाई १६ रनमा पनि बोल्ड गरिन् । चेतना पग्याडियालाले २४ र एला क्लारिजले सर्वाधिक ३५ रन बनाइन् । स्कर्टल्यान्डका लागी ब्राइस, क्लोई एबेल र प्रियानाज चटर्जीले २-२ विकेट लिए ।
अमेरिका १ ओभरअघि नै १ सय ३७ रनमा मेटिएपछि स्कटल्यान्डले सहज जित हात पार्दै विश्वकप यात्रा तय गर्यो । आजै सम्पन्न सुपर सिक्स अर्को खेलमा नेदरल्यान्ड्सलाई ७ विकेटले हराउँदै बंगलादेश च्याम्पियन बन्यो । समूह चरणका चार र सुपर सिक्सका ३ वटै खेल जितेको बंगलादेश अपराजित रह्यो ।
नेदरल्यान्ड्सले दिएको १ सय ३ रनको लक्ष्य बंगलादेशले १६ ओभर ४ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । यस्तै आयरल्यान्डले थाइल्यान्डलाई पराजित गर्दै विश्वकपमा छनोट भयो । आयरल्यान्डले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १६ ओभर १ बलमा ५९ रनमा अलआउट भयो ।
१० टोली सहभागी ग्लोबल छनोटबाट ४ टोलीले महिला टी-२० विश्वकपमा स्थान बनाएका हुन् । महिला टी-२० विश्वकप आगामी जुन १२ देखि इंग्ल्यान्डमा सुरू हुँदैछ ।