मधेशमा खानेपानीको हाहाकार : ३७१ योजना अलपत्र, पूर्व राष्ट्रपतिको गाउँमै पुगेन पानी

माघ १७, २०८२ |अनिल मिश्र
मधेशमा खानेपानीको हाहाकार : ३७१ योजना अलपत्र, पूर्व राष्ट्रपतिको गाउँमै पुगेन पानी

धनुषा । जलवायु परिवर्तन र चुरेको विनाशका कारण तराई मधेशका जिल्लामा बर्षेनि पानीको समस्या बढ्दो छ ।

सुक्खा, खडेरी, डढेलोलगायतका कारण तापक्रम अत्यधिक बढ्नुका साथै वर्षासमेत पर्याप्त नभएपछि भूमिगत पानीको सतह घटेका कारण पानीको समस्या बढेको हो । खानेपानीका लागि सरकारले कामै नगरेको होइन तर अधिकांश सरकारी योजना अधुरा छन् । 

कहाँसम्म भने दश वर्षमा मधेशका आठ जिल्लामा ३ सय ७१ वटा खानेपानी आयोजना पुरा हुन सकेनन् । जसका कारण वैशाख लागेसँगै मधेशमा पानीको हाहाकार हुने गरेको छ । नेपालका प्रथम राष्ट्रपति डाक्टर रामवरण यादवको पैतृक गाउँ धनुषाको लक्ष्मीनयाँ गाउँपालिका–४ सपही हो । 

जनकपुर महेन्द्रनगर हाइवेको छैउमै ठड्याइएको छ यो खानेपानी ट्यांकी । तत्कालीन सपही गाविसका एक हजार घरधुरीलाई स्वच्छ खानेपानी खुवाउने उद्देश्यले २०६५ सालमा सुरू भएको यस योजनाको काम अझै पूरा हुन सकेको छैन । राष्ट्रपति छँदा रामवरण यादवको पहलमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय जनकपुरले पाँच वर्षभित्र आयोजनालाई पूर्णता दिने लक्ष्यसहित काम सुरू गरे पनि १७ वर्षमा समेत पूरा हुन नसकेपछि निर्माण गरिएका संरचनाहरू जीर्ण हुनुका साथै एक सुकुम्बासीको यो भवन अहिले आश्रय स्थल बनेको छ ।

निर्माण सुरू भएको २६ वर्ष बितिसक्दा पनि धनुषाको धनुषाधाम नगरपालिका–४ लक्ष्मीपुरमा रहेको खानेपानी योजना सञ्चालन हुन सकेको छैन । तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०५६ सालमा काम सुरू गरेको यस योजनामा पटक-पटक गरी १ करोड २० लाख भन्दा बढी रकम खर्च भइसके पनि नागरिकले अहिलेसम्म पानी पिउन पाएका छैनन् ।

मधेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालकाअनुसार आर्थिक वर्ष २०५६/५७ देखि २०७४/७५ सम्मका मधेशका आठ जिल्लामा ३ सय ७१ वटा खानेपानी आयोजना अधुरा छन् । सुक्खा, खडेरी, डढेलोलगायतका कारण तापक्रम अत्यधिक बढ्नुका साथै वर्षासमेत पर्याप्त नभएपछि भूमिगत पानीको सतह घट्दै गएर बर्षेनि खानेपानीको समस्या चुलिँदो छ । 

हिउँदमा खासै समस्या नभए पनि वैशाख लागेसँगै मधेशको विभिन्न स्थानका गहिरो इनार सुक्ने र चापाकलमा पानीनै आउन छाड्ने गर्छ । त्यसको परिणामस्वरूप वारुण यन्त्र, पानी टयांक, जाड र बोतलमा भरिएको पिउने पानी वितरण गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ । मधेशका सबै अधुरा खानेपानी योजना सञ्चालनमा ल्याउन मन्त्रालयसँग भने रकम अभाव छ ।

करोडौं लगानीका अधुरा योजनाहरू सञ्चालनमा ल्याई नागरिकलाई सफा र स्वच्छ खानेपानी उपलब्ध गराउनुको साटो प्रदेश सरकारका तत्कालीन विभागीय मन्त्री भने नेता कार्यकर्ता र व्यक्ति विशेषलाई फाइदा पुग्ने खाले योजनाहरुमा बजेट विनियोजन गरेको पाइएको छ। 

दीर्घकालीनरूपमा पानीको संकट समाधानका लागि चुरे क्षेत्रको संरक्षण, वृक्षारोपण, सिमसार क्षेत्रमा पानीको भण्डारण, स्रोतस्थलमा पानी रिचार्ज गर्ने प्रविधिको निर्माण, वर्षातको पानी भण्डारण र सतही सिँचाइ व्यवस्थापन गर्न जरुरी छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।