टी-२० विश्वकप वार्मअपमा नेपालले यूएई र क्यानडासँग खेल्ने

माघ १३, २०८२ |खेल ब्युरो
टी-२० विश्वकप वार्मअपमा नेपालले यूएई र क्यानडासँग खेल्ने

काठमाडौं । आईसीसी पुरूष टी-२० विश्वकपको आधिकारिक वार्मअप खेलमा नेपालले यूएई र क्यानडासँग प्रतिस्पर्धा गर्ने भएको छ । 

यसपटक पनि नेपालले पूर्ण सदस्य टोलीविरूद्ध भने वार्मअप खेल खेल्ने अवसर पाउन सकेन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌-आईसीसीले आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको अभ्यास खेलको तालिका अनुसार नेपालले यूएईसँग फेब्रुअरी ३ र क्यानडासँग फेब्रुअरी ५ मा अभ्यास खेल खेल्ने उल्लेख गरेको छ । 

नेपालले आफ्ना दुवै खेल चेन्नईस्थित एमए चिदाबरम रंगशालामा खेल्ने छ । फेब्रुअरी ३ मा खेलिने युएईविरूद्धको अभ्यास खेल साँझ सवा ५ बजे र क्यानडासँग फेब्रुअरी ५ मा खेलिने खेल दिउँसो सवा १ बजेदेखि खेल सुरू हुनेछ । विश्वकपको तयारीका लागि हाल आयोजक राष्ट्र भारत भ्रमणमै रहेको नेपालले मंगलबार र बुधबार अध्यास गर्ने छ भने मुम्बई क्रिकेट एशोसिएशनको एमसीए प्रेसिडेन्ट-११ सँग दुई टी-२० अभ्यास खेल खेल्ने तालिका छ । 

पहिलो खेल जनवरी २९ र दोस्रो अभ्यास खेल जनवरी ३१ तारिखमा हुनेछन् । दोस्रो खेल डे-नाइट हुनेछ । नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरूवात गर्नेछ । नेपालले फेब्रुअरी १२ मा इटली, फेब्रुअरी १५ मा वेस्ट इन्डिज र फेब्रुअरी १७ मा स्कटल्यान्डसँग खेल्नेछ । 

टी-२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ ।