
बुटवल । बुटवल नारायणगढ सडक खण्ड विस्तारअन्तर्गत हाल दाउन्ने खण्डमा धमाधम काम भइरहेको छ ।
पर्खाल लगाउने र सडक ढलान गर्ने काम तीव्र गतिमा भइरहेको हो । १४ किलोमिटर दाउन्ने सडक खण्ड मध्ये पूर्वी क्षेत्रमा साढे दुई किलोमिटर र पश्चिम खण्डतर्फ कालोपत्रे र ढलान गरेर ६ किलोमिटर एकतर्फी काम भइसकेको छ । ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका इन्जिनियर राकेश झाका अनुसार दिन–रात काम गरेर माघभित्र यातायात सञ्चालनका लागि सहज बनाउने प्रयास भइरहेको छ ।
विशेष गरी यस खण्डमा सबैभन्दा बढी सडक अवरूद्ध हुने विश्वकर्मा मन्दिर आसपासमा अहिले धमाधम काम भइरहेको छ । १ सय १३ किलोमिटर सडक विस्तारअन्तर्गत अहिलेसम्म ७६ प्रतिशत काम सम्पन्न भएको छ । ४४ महिनामा निमार्ण हुनुपर्ने सडक ७ वर्षमा पनि नबन्दा यात्रु र स्थानीयले सास्ती भोग्नुपरेको छ । सरकारले चौथो पटकका लागि यो आयोजनाको म्याद २०८३ साउन मसान्तसम्म म्याद थप गरेको छ ।