
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सडक पूर्वाधारलगायतका विकास निर्माण अघि बढाउँदा धार्मिक विश्वास र सांस्कृतिक सम्पदालाई असर पुर्याउन नहुनेमा जोड दिनुभएको छ ।
मुलुकको प्राथमिकता प्राप्त राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई मधेश द्रुतमार्ग निरीक्षणका क्रममा मंगलबार ललितपुरको खोकनामा आयोजित कार्यक्रममा उहाँले स्थानीयका सरोकारलाई गम्भीर रूपमा लिई समाधान खोज्न निर्देशन दिनुभएको हो ।
प्रधानमन्त्री कार्कीले भौतिक संरचनालगायतका निर्माण गरिँदा आवश्यक पर्याप्त खाली ठाउँको व्यवस्था मिलाउन समेत सुझाव दिनुभयो । स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक ध्यान दिई समाधान गर्न जरूरी रहेको उहाँले बताउनु भयो । आवश्यक परेको खण्डमा रेखाङ्कन र जिरोविन्दु समेत परिवर्तनका लागि तयार हुनुपर्ने प्रधानमन्त्री कार्कीको भनाइ छ ।
प्रधानसेनापति अशोकराज सिग्देल र आयोजना प्रमुख उपरथी धर्मेन्द्र झाले आयोजनाको हालसम्मको कार्य प्रगति, चुनौतीलगायतका विषयमा प्रधानमन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो ।