.png&w=1000&height=550)
जुम्ला । जुम्लामा तीन वर्षपछि पहिलोपटक हिउँ परेको छ।
यी तीन वर्षमा लेकाली क्षेत्रमा सामान्य हिमपात भए पनि योपटक जिल्लाभर हिउँ परेकोले किसान उत्साहित छन् । हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । पशुवस्तुलाई किसानले गोठमै राखेर दानापानी दिइरहेका छन् । सदरमुकाम क्षेत्रमा झन्डै आधा फिट हिउँ जमेकोमा लेकाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।
सडकमा सवारीसाधन गुड्न सकेका छैनन् । हिमपातले हवाइसेवा समेत प्रभावित बनेको छ । तर हिउँदेबाली जौ, गहुँ खेती सप्रनेमा किसान आशावादी छन् । अहिले जुम्लाका आठैवटा स्थानीय तहका ६० वडामै हिमपात भइरहेको छ । जिल्ला प्रशासन कार्यालयले भारी हिमपात भइरहेकोले उच्च सतकर्ता अपनाउन आग्रह गरेको छ ।
मंसिर पुसमै हिउँ पर्नुपर्ने भए पनि ढिला गरी माघमा परेको हिउँले समेत बालीनाली सप्रिने किसान बताउँछन् । यो हिमपातले स्याउमा कालो तुसारो नलाग्ने र किराको संक्रमण कम हुने कृषिविज्ञहरूले बताएका छन् ।
यस्तै हुम्लामा पनि यो हिउँदकै पहिलो हिमपात भएको छ । गएराति करिब ९ बजेदेखि हुम्लामा हिमपात हुन थालेको हो। धेरै समयसम्म वर्षा र हिमपात नहुँदा सुक्खापन बढ्दै गएको हुम्लामा परेको यो हिउँपछि स्थानीयले राहत पाएका छन्। हिमपातका कारण चिसो बढे पनि किसानलाई बाली सप्रिने आशा छाएको छ।