‘पुराना दल खराब भए, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी होइन : महासचिव चन्द

माघ १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘पुराना दल खराब भए, नयाँ दल चाहिन्छ’ भन्ने नारा क्रान्तिकारी होइन : महासचिव चन्द

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले पुराना दल गलत भएकोले नयाँ दल चाहिन्छ भन्ने नारा क्रान्तिकारी नभइ जनतालाई भ्रमित पार्ने भुलभुलैया मात्रै भएको बताउनुभएको छ ।

शनिवार आयोजित पार्टीको निर्वाचनसम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले हाल राजनीतिक वृत्तमा फैलाइएको नयाँ-पुराना दलको बहस वास्तविक समस्याबाट ध्यान हटाउने प्रयास मात्रै भएको बताउनुभएको हो । उहाँले नेपालमा दलको समस्या नभएर जनताले चाहेको जनताको सेवा गर्ने राज्यसत्ता भएको बताउनु भयो । 

जनताको पक्षमा निर्णय गर्ने र न्यायपूर्ण ढंगले फैसला लिने सत्ता आजको आवश्यकता भएको उहाँको भनाइ छ । उहाँकाअनुसार अहिले सत्ताको बहस ओझेलमा पारेर बाहिरी फैलाइएको नयाँ र पुराना दलको हल्लाखल्ला सत्य नभएको दाबी गर्नुभयो । उहाँले पुराना दलले भ्रष्टाचार र विकृतिको जन्म दिएको सही भए पनि नयाँ दल आएपछि मात्रै अवस्था स्वतः सुध्रिन्छ भन्ने धारणा भने गलत रहेको बताउनु भयो । 

नयाँ दलप्रति जनतामा देखिएको आशा केही हदसम्म पुराना दलको असफलताबाट जन्मिएको भए पनि पुरानो राज्यसत्ता यथावत् रहेसम्म नयाँ दल आएर मात्रै समस्या समाधान नहुने उहाँको भनाइ छ । उहाँले राजनीतिक संघर्षको मूल विषय पुराना र नयाँ दलबीच नभइ पुरानो सत्ता र जनताको बीचको संघर्ष भएको बताउनु भयो । 

उहाँले नयाँ नेता र पुराना नेताको बहस पनि वास्तविक निकास दिने तर्क नरहेको बताउनु भयो । उहाँकाअनुसार २५-३० वा ४०-४५ वर्षको नयाँ अनुहार आएपछि सबै ठिक हुने र पुरानो मान्छेले राम्रो गर्न सक्दैन भन्नेकुरा सत्य होइन । उमेरभन्दा पनि दृष्टिकोण महत्वपूर्ण भएको उहाँले बताउनु भयो । उहाँकाअनुसार मान्छे उमेरले पुरानो हुनसक्छ तर उसले बोकेको दृष्टिकोण के हो भन्ने कुरा निर्णायक हुन्छ ।

महासचिव चन्दले पुरानो सत्ता संरचना र चरित्र बदल्नसक्ने स्पष्ट दृष्टिकोण भएका नेताको आवश्यकता औँल्याउनु भयो । उहाँले नयाँ भन्नेहरूमध्ये कसैबाट पनि त्यो परिवर्तनकारी दृष्टिकोण नदेखिएको दाबी गर्नुभयो । पुरानो सत्तालाई बदलेर जनताको सत्ता निर्माण गर्नसक्ने शक्ति नेकपा माओवादी मात्रै भएकोले जनतालाई यो कुरा बुझाउन उहाँले निर्देशन दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.