आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा बंगलादेश र थाइल्यान्डको लगातार दोस्रो जित

माघ ६, २०८२ |खेल ब्युरो
आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा बंगलादेश र थाइल्यान्डको लगातार दोस्रो जित

काठमाडौं । बंगलादेश र थाइल्यान्डले आइसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोटमा लगातार दोस्रो जित हात पारेका छन् ।

टीयू क्रिकेट मैदानमा बंगलादेशले पपुवा न्युगिनीलाई ३० रनले पराजित गरेको हो । पीएनजीले टस जितर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रनको योगफल तयार पारेको थियो । उसका लागि ओपनर दिलारा अख्तर ३५ र जुइरिया फिरदौसले १७ रनको योगदान दिए । 

शरमिन अख्तर २८ र शोर्ना अख्तर सर्वाधिक ३७ रनमा आउट भए । शोभना मोस्तारी ४७ रनमा नटआउट रहे । पीएनजीका लागि माइरी टम, हेनाओ थोमस र डिका लोहियाले समान १-१ विकेट लिए । १ सय ६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पपुवा न्युगिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो । 

होलन डोरिगाले २१ र कोनियो ओलाले १२ रन बनाए । कप्तान ब्रेन्डा टाउले सर्वाधिक ३५ रनको योगदान दिइन् । सिबोना जिमी २८ र नौनी वारे १५ रनमा बाहिरिए । ७ बलर प्रयोग गरेको बंगलादेशका लागि सुल्ताना खातुनबाहेब सबै बलरले समान १-१ विकेट लिए । 

बंगलादेशले आफ्नो पहिलो खेलमा अमेरिकालाई २१ रनले पराजित गरेको थियो भने पीएनजी आयरल्यान्डसँग ४१ रनले पराजित भएको थियो । जितसँगै बंगलादेशले २ खेलमा ४ अंक जोडेको छ । उ समूह एको शीर्ष स्थानमा छ । पीएनजी दुई खेलसम्म अंकविहीन छ ।

मुलपानीमा सम्पन्न समूह 'बी'को रोमाञ्चक खेलमा थाइल्यान्डले जिम्वाब्वेविरूद्ध १ रनको नाटकीय जित हात पार्यो । जिम्वाब्वेले टस जितेर फिल्डिङ रोजेपछि सुरूवातमा ब्याटिङ गरेको थाइ टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन मात्र बनाए पनि त्यसलाई सफलता पूर्वक रक्षा गर्यो । उसका लागि नाथकन चन्थमले २६ रन बनाउँदा नन्नपत कोन्चरो-एनकाईले सर्वाधिक ५४ रनको अर्धशतकीय योगदान दिइन् । जिम्वाम्ब्बेका लागी एडेल जिमुनु र अड्रे माज्वि-शायाले समान २-२ विकेट लिए ।

१ सय १६ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्वाब्वेले ६ विकेट गुमाएर १ सय १४ रन मात्र बनाउन सक्यो । उसका लागि मोडेस्टर मुपाचिक्वाले ३६ र केलिसले २८ रन बनाए । अन्तिम बलमा जितका लागि २ रन र सुपर ओभरका लागि १ रन चाहिएको अवस्थामा न्याशा ग्वान्जुरा रन आउट भएपछि थाइल्यान्डले १ रनको रोमाञ्चक जित हात पार्यो । जितसँगै थाइ टोलीले २ खेलमा ४ अंक जोडेको छ । उ समूह बीको शीर्ष स्थानमा छ । दुबै खेल हारेको जिम्वाम्ब्बेले अंकको खाता खोल्न सकेको छैन ।