
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि विकट तथा दुर्गम क्षेत्रमा मतपेटिका ढुवानी र संकलनको विशेष कार्ययोजना तयार पारेको छ ।
भौगोलिक रूपमा विकट मानिएका हिमाली तथा पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री र जनशक्ति पुर्याउन तथा मतदानपछि मतपेटिका सुरक्षित रूपमा मतगणना स्थलसम्म ल्याउन आयोगले हेलिकप्टरको प्रयोग गर्ने भएको हो ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतकाअनुसार मतदानअगावै हुम्ला र डोल्पाका अति दुर्गम २७ स्थानमा हेलिकप्टरमार्फत मतपत्र, कर्मचारी र सुरक्षाकर्मी पुर्याइसकिएको छ । जसमा डोल्पाका २३ वटा र हुम्लाका चारवटा मतदान केन्द्र रहेका छन् ।
मतदान सम्पन्न भइसकेपछि पनि देशका विभिन्न १५ जिल्लाका ६१ वटा दुर्गम स्थानबाट मतपेटिका संकलन गर्न हेलिकप्टरकै प्रयोग गरिने सचिव राउतले जानकारी दिनुभयो । ताप्लेजुङदेखि दार्चुलासम्मका ती ६१ स्थानबाहेक अन्य सुगम र सडक सञ्जाल जोडिएका स्थानहरूमा भने सवारी साधनमार्फत नै मतपेटिका संकलन गरिनेछ ।
मतपेटिका ढुवानीलाई व्यवस्थित र सुरक्षित बनाउन आयोगले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई ढुवानीका लागि आवश्यक पर्ने बजेट पठाइसकेको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को नेतृत्वमा सबै सुरक्षा निकायहरूको समन्वय रहने गरी ढुवानी कार्ययोजना बनाइएको सचिव राउतले बताउनु भयो ।
सोही कार्ययोजना अनुरूप मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गरी देशभर तय गरिएका १ सय ६५ वटा मतगणना स्थलहरूमा सुरक्षित रूपमा ल्याइने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।