
काठमाडौं । सरकारले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अन्तर्गत कडा सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले गृह मन्त्रालयको समन्वयमा तयार पारिएको सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयनमा गइसकेको जानकारी दिनुभएको हो । आयोगलाई प्राप्त जानकारीअनुसार देशभर रहेका कुल १० हजार ९ सय ६७ मतदान स्थलहरूलाई सुरक्षा संवेदनशीलताका आधारमा तीन भागमा वर्गीकरण गरिएको छ ।
विगतका निर्वाचनको सुरक्षा विश्लेषण र वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै ३ हजार ६ सय ८० वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको छ । त्यसैगरी, ४ हजार ४ सय ४२ वटा मतदान स्थललाई ‘संवेदनशील’ र २ हजार ८ सय ४५ वटा मतदान स्थललाई ‘सामान्य’ श्रेणीमा राखिएको छ ।
सचिव राउतले मतदान स्थलहरूको यो वर्गीकरण विशुद्ध रूपमा सुरक्षाकर्मी परिचालनको सहजता र सुरक्षा प्रवन्ध मिलाउनका लागि मात्र गरिएको स्पष्ट पार्नुभयो । मतदान स्थलको सुरक्षाका लागि विगतका निर्वाचनहरूमा जस्तै यसपटक पनि तीन घेराको सुरक्षा प्रबन्ध मिलाइएको छ ।
जसअन्तर्गत मतदान स्थलको सबैभन्दा बाहिरी घेरामा नेपाली सेना खटिनेछ भने त्यसपछिको बीचको घेरामा सशस्त्र प्रहरी बल रहनेछ । मतदान स्थलको भित्रि घेराको सुरक्षाको जिम्मा भने नेपाल प्रहरीलाई दिइएको छ ।