काठमाडौंको येंगालस्थित ऐतिहासिक ढुंगेधारा जीर्णोद्धार, स्थानीय खुसी

पुस २८, २०८२ |नारायण किलम्बू
काठमाडौंको येंगालस्थित ऐतिहासिक ढुंगेधारा जीर्णोद्धार, स्थानीय खुसी

काठमाडौं । काठमाडौंको येंगालस्थित ऐतिहासिक ढुंगेधारा जीर्णोद्धार भएको छ । 

१५ सय वर्ष अघिदेखि पानी उपलब्ध गराउँदै आएको ढुंगेधारा जीर्णोद्धार भएर पुन: पानी बग्न थालेपछि स्थानीय खुसी भएका छन् । काठमाडौं महानगरपालिका वडा २१ मा रहेको येंगा अर्थात् काठमाडौंको खाल्डो । यही येंगा नामबाट नामकरण भएको लिच्छविकालीन ढुंगेधारा जीर्णोद्धार गरिएसँगै पुन: पानी आउन थालेको छ । 

येंगालको येंगा क्लब र चिभा चैत्य अर्गनाइजेसनको अग्रसरता र अमेरिकी दूतावासको आर्थिक सहयोगमा हिटीको जीर्णोद्धार गरिएको हो । वरपरका अग्ला घरको बीच खाल्डोमा तीनवटा ढुंगेधाराबाट कलकल पानी बगिरहेको देख्दा स्थानीय निकै खुसी देखिएका छन् । यही धाराबाट पहिला पानी ओसारेको सम्झने रैथाने नेवार समुदायका महिला अहिले फेरि पानी आएको देख्दा निकै खुसी छन् ।

राजा गुणकामदेवको पालामा निर्माण भएको येंगाहिटी परिसरमा लिच्छविकालीन चैत्य, ब्रम्हाविष्णु, उमामहेश्वर, बुद्ध मूर्तिहरूका साथै सिलापत्रहरू समेत दुरूस्तै रहेका छन् । काठमाडौंकै सामुदायिक जलस्रोतको रूपमा रहेको येंगाहिटी करिब २ लाख ७५ हजार अमेरिकी डलरको सहयोगमा जिर्णौद्धार भएको हो ।

येंगा हिटीमात्र होइन काठमाडौं महानगरको सहयोगमा धेरै प्राचीन ढुंगेधाराहरू जिर्णौद्धार वा पुनर्निर्माण भएका छन् । महानगर क्षेत्रभित्र रहेका करिब १ सय ५४ वटा ढुंगेधारामध्ये कतिपय संरक्षणको अभावमा लोप भैसकेका छन् । पहिचान भएर संरक्षणको पर्खाइमा रहेका धेरै ऐतिहासिक ढुंगेधारा पुनर्निर्माण भएको महानगरको भनाइ छ ।

काठमाडौंमा यस्ता धेरै ऐतिहासिक ढुंगेधारा, मठमन्दिर छन्, जसलाई पुनर्जीवित तुल्याउन स्थानीय समुदाय अग्रसर हुन आवश्यक छ ।


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।