
काठमाडौं । नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड युथ स्पोर्टस क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ।
फाइनल पुगिसकेका यी दुई टिमको प्रतिस्पर्धामा न्यु डायमन्डले पुलिसलाई पाँच सेटमा पराजित गरेको हो। यो खेलको नतिजाले फाइनल पुग्न टिमको समीकरण निर्माणमा कुनै प्रभाव पार्ने थिएन । यद्यपि न्यु डायमन्ड लगातार जित निकालेर फाइनलमा सानदार इन्ट्री गर्दा पुलिस भने फाइनलअघि अपराजित रहने छैन्।
लिग चरणको दबाब नभएको खेलमा पुलिसले सुरआति दुई सेटमा आफ्ना खेलाडीलाई आराम दिएपछि न्यु डायमन्डले २-०को अग्रता बनायो। यतिबेला न्यु डायमन्डले २५-१४ र २५-१९ को सहज जित हासिल गरेको हो। पुलिसले आफ्नो पहिलो टिम उतारेपछि उसले त्यसपछिका दुई सेट जित्यो।
यसपटक पुलिसले २५-२० र २९-२७ को रोमाञ्चक जित हासिल गरेको थियो। २-२ को प्रतिस्पर्धात्मक अवस्थामा न्यु डायमन्डले १५-१० को जितसहित खेल आफ्नो पक्षमा पारेको हो। अब शनिबार हुने फाइनल खेलमा उपाधिका लागि न्यु डायमन्ड र पुलिस क्लबबीच नै प्रतिस्पर्धा हुनेछ। गत हप्ता भएको एनभीए च्याम्पियनसिपको फाइनलमा भने पुलिसले न्यु डायमन्डसँग ३-० को सोझो सेटमा हार ब्यहोरेको थियो।